भद्रपुर/ भारतको पानीटयाङ्की नाकाबाट नेपालको काँकडभिट्टातर्फ आइरहेका एक नेपाली सात राउन्ड गोली र पेस्तोलसहित भारतीय प्रहरीको नियन्त्रणमा परेका छन् ।

झापा मेचीनगर नगरपालिका ११ स्थित गैरीगाँउका ३७ वर्षीय र्कितन वतर (चौधरी) लाई गोली र पेस्तोलसहित भारतीय एसएसबीले नियन्त्रणमा लिएको हो । वतरलाइ नेपाल–भारतको सीमावर्ती नाकामा भारतीय एसएसबी ४१ बटालियन रानीडाँगाका टोलीले पक्राउ गरेको जनाएको छ ।

विशेष सुराकीका आधारमा वतरलाई पानीटयाङ्कीमा निर्मित एसियन हाइवेको फ्लाई ओभरबाट पक्राउ गरेको जनाइएको छ । घटना विवरण अनुसार भारतका खोरीबासी बस्ने विजय राजवंशीले फोन गरेर वतरलाई भारतको पानीटयाङ्की बोलाएका थिए ।

सिटी सफारी चालक रहेका वतर आफ्नो मे १ ह ६९५० नम्बरको सफारी लिएर भारतीय नागरिक विजयलाई भेट्न बोलाएको स्थानमा पुगेका थिए । फ्लाई ओभरमा दुवै जना भेटघाट गरी सिटी सफारी फ्लाई ओभरमै राखेर उनीहरू कतै लागेका थिए ।

फर्किदा वतर एक्लै आए र आफ्नो सिटी सफारी लिएर काँकडभिट्टा फर्किने अवस्थामा एसएसबीका जवानले उनलाई नियन्त्रणमा लिएर सिटी सफारी चेकजाँच गरे । सफारी चेकजाँचमा ७.६५ एमएमको सात राउन्ड गोलीसहित मेड इन युएस लेखिएको पेस्तोल फेला पारेका थिए ।

एसएसबीका अनुसार वतरले भारतबाट पेस्तोल लिएर नेपालमा कसैलाई बेच्न लागेको आशङ्का गरेका छन् भने वतरले मलाई विजयले बोलाएर नियोजित रूपमा फसाएको प्रहरीलाइ बयान दिएका छन् ।