पाँचथर/ लिम्बुवान स्प्रिङ आन्दोलनले संयोजन गरेको ‘काङ्सोरे लङ्मार्च’ सोमबार फिदिमदेखि शुरु भएको छ । तिम्बुङ पोखरीको प्राकृतिक सौन्दर्यलाई बचाउन ‘लङ्मार्च’ गर्नुपरेको ‘लङ्मार्च’ का कमाण्डर इक्साहाङ चेम्जोङले बताए ।

लिम्बुवान स्प्रिङ आन्दोलन र लिम्बुङ वारक (पोखरी) संरक्षण संयुक्त अभियानले सोमबार फिदिमस्थित ऐतिहासिकस्थल सुम्हालुङ परिसरमा पत्रकार सम्मेलन गरी ‘लङ्मार्च’ शुरु भएको जनाएका हुन् ।

‘लङ्मार्च’ मा करिब ४० जनाको सहभागिता रहेको कमाण्डर चेम्जोङले बताए । तिम्बुङ पोखरीको डिलमा निर्माण भइरहेको मन्दिरको विषयलाई लिएर ‘लङ्मार्च’ को आयोजना गरिएको हो । स्प्रिङ आन्दोलनले शुरुवातदेखि नै पोखरीको प्राकृतिक सौन्दर्य कुरूप हुने गरी र वातावरणमा असर पर्ने गरी मन्दिर निर्माण भइरहेको भन्दै विरोध जनाउँदै आएको छ ।

उक्त मन्दिर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५० लाख र ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको पाँच लाख गरी ५५ लाख रुपैंयाँमा बनिरहेको हो । उक्त कार्यले तिम्बुङ पोखरीको जैविक विविधता, सुन्दरता, र पर्यावरणमा असर पुगि मौलिकता र भर्जिनिटि समाप्त हुने भएकाले मन्दिर निर्माणकार्यको विरोध गर्नुपरेको तिम्बुङ वारक संरक्षण अभियानका संयोजक दीलेन्द्र कुम्बाङले बताए ।

फिदिमको सुम्हालुङबाट शुरु भएको ‘लङ्मार्च’ ताप्लेजुङको सिदिङ्वा र पाँचथरको याङवरक गाउँपालिकाको सङ्गममा अवस्थित तिम्बुङ पोखरी पुगेर मार्चपास सहित थप सत्यतथ्य कुरा जानकारी लिने बताइएको छ । त्यस्तै सिदिङ्वा गाउँपालिकालाई यस सम्बन्धी ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताइएको छ ।