- धरानको मेयरमा उम्मेदवारी दिनुभएको छ, के छन् योजनाहरू ?
उमेदवारीको योजना भन्नुभन्दा अगाडि म पार्टीको निर्माण कसरी हुन्छ भन्ने कुरा राख्न चाहन्छु । जुनसुकै पार्टी पनि दुईवटा कुराले निर्माण भएको हुन्छ । जसमा एउटा पार्टीको विचार हो भने अर्को सङ्गठन । तर, यहाँ के कुरा बुझ्न जरुरी छ भने पार्टी व्यक्तिको आवश्यकताले निर्माण भएको हुँदैन । जब सामाजिक आवश्यकता आउँछन् तब पार्टीको निर्माण भएको हुन्छ । राजनैतिक पार्टी भनेको सामाजिक रूपान्तरण गर्ने सेवामूलक संस्था हो भन्ने मेरो मेरो बुझाइ हो ।

- यो बेला पार्टी निर्माणभन्दा पनि स्थानीय तहको निर्वाचनको कुरा हो । त्यसतर्फ चाहि“ तपाईंको कुरा आएनन् नि ?
हाम्रो पार्टीको विचार र दर्शन भनेको कल्याणकारी लोकतन्त्र हो । नेपालको राजनैतिक पृष्ठभूमिमा यो एउटा नौलो विचार र वाद भनेर चिनिन्छ । र कल्याणकारी लोकतन्त्रको विचार र दर्शन बोकेको पार्टीको तर्फबाट मैले उम्मेदवारी दिएको हुनाले स्वाभाविक रूपमा धरान उपमहानगरपालिकालाई कल्याणकारी लोकतान्त्रिक स्थानीय तहको रूपमा अगाडि बढाउनेछु ।

- धरानका लागि तपाईंको मुख्ययोजना चाहि“ के हो ?
धरानको मुख्य समस्याको रूपमा सुकुम्बासी समस्या हो । सेउती सर्दुजस्ता खहरेको डिलमा जोखिमपूर्ण अव्यवस्थित बसोबास गरिरहनु भएको छ । बर्खाको समयमा वहाँहरूलाई धरै समस्या हुने गरेको आम धरानेलाई थाहा भएकै कुरा हो । म नेतृत्वमा आएको खण्डमा मेरो पहिलो ध्यान भनेको सुकुम्बासी व्यावस्थापनमा नै केन्द्रित हुने छ । उनीहरूलाई सुरक्षित आवास निर्माण गरेर सुरक्षित बसोवास उपलब्ध गराउनेछु । यो एउटा जटिल समस्या हो । यो निराकरणमा उपमहानगरले मात्रै सम्भव छैन, प्रदेश र सङ्घले पनि उत्तिकै ध्यान दिनु जरुरी छ । त्यसैले म दुई तहसँग समन्वय गरेर उचित र दीर्घकालीन व्यवस्थापन गर्नेछु । त्यस्तै, यहाँका राष्ट्रिय स्तरका सडकहरूमा जुन रूपका समस्याहरुरू आइरहेको छन् तिनको सामाधान गर्न प्रदेश र केन्द्र सरकारसँग समन्वय गरी सडकहरूलाई तत्काल चुस्त र दुरुस्त बनाउन लागी पर्नेछु । धरानको धन बीपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान अहिले आफै रोगी बनेको अवस्था छ । राजनैतिक भागवण्डा भएको अवस्था छ धरान भित्र रहेर पनि धरानको सम्पत्ति जस्तो बन्न सकेको छैन । त्यसलाई म केन्द्र र प्रदेश सरकारसँग समन्वय गरेर राजनैतिक भागवण्डाको अन्त गराउँदै व्यवस्थापकीय हिसाबले पनि स्वस्थ स्वास्थ्य संस्थानको रूपमा खडा गराउन लागी पर्नेछु ।

- धरान बाम पार्टीको गढ मानिन्छ । यो अवस्थामा जितको कुरा गरिरहनु भएको छ ?
आगो बल्न झिल्कोबाट नै शुरु हुने हो । सङ्गठनका हिसाबले हामी सानो पार्टी अवश्य हौं तर हाम्रा विचारहरू लोककल्याणकारी छन्, उत्कृष्ट छन् । हाम्रो विचार भनेको कल्याणकारी लोकतन्त्र हो । जसले कल्याणकारी राज्यमार्फत समतामुलक समाजको परिकल्पना गर्छ । जहाँ सामाजिक न्यायका लागि शिक्षा, स्वास्थ्य, निम्न आय भएकाका लागि आवास, सामाजिक सुरक्षा र रोजगारको ग्यारेटी गर्छ । यी कुराहरू समाजमा प्रत्याभुत भएको खण्डमा गरिब र धनी बिचको जुन खाल्डो छ, जुन भेद छ त्यसलाई हामी निराकारण गर्न सक्छांै । यो कल्याणकारी लोकतन्त्र भनेको एकदमै उत्कृट लोकतन्त्र हो । यसले नागरिकलाई समय अनुकुल अगाडि बढाउन सक्छ । राजनीति भनेको व्यक्तिका लागि नभई देश, समाज र जनताका लागि हो । जनताका हित र अधिकारका लागि राजनीति सेवाको रूपमा गरिनुपर्छ भन्ने मेरो ठम्याइ रहेको छ । त्यसैले पनि म जित्छु भन्नेमा विश्वस्त छु ।
प्रस्तुतिः डम्बर कार्की