विराटनगर/ प्रदेश १ को राजधानी रहेको सहर विराटनगरलाई सौन्दर्यीकरण गरिन मेन रोडको बिजुलीको पोलमा फूलसहितको गमला राख्ने अभियान शुरु भएको छ ।

विराटनगर महानगरपालिका र रोटरी क्बल अफ विराटनगर डाउनटाउनको संयुक्त आयोजनामा उक्त अभियानको थलानी भएको हो । विराटनगर महानगरपालिका अगाडि आइतबार एक कार्यक्रम आयोजना गरि सहरलाई सौन्दर्यीकरण गरिन बिजुलीको पोलमा स्टेण्ड सहितको गमला राख्ने अभियानको शुभाराम्भ भयो । विराटनगर महानगरपालिकाको प्रमुख भीम पराजुली, उपप्रमुख इन्दिरा कार्की, प्रशासकीय प्रमुख एकदेव अधिकारी र रोटरी क्लबका गर्भनर किरणलाल श्रेष्ठले संयुक्त रूपमा बिजुलीको पोलमा फूलसहितको गमला राखि अभियानको उद्घाटन गरे ।

विराटनगरको तीनपैनी चौकदेखि ट्राफिक चौकसम्म करिब १ सयवटा बिजुलीको पोलमा गमला राखिने अभियानको थलानी भएको विराटनगर महानगरपालिका प्रमुख पराजुलीले जानकारी दिए । १ वटा बिजुलीको पोलमा २ वटा गमला र डस्टिबिनपनि राखिने गरिएको उनले बताए । ‘सहरलाई सौन्दर्यीकरण गर्न बिजुलीको पोलमा गमलासहितको फूल राखिएको छ,’ उनले भने, ‘यसको संरक्षणमा सबै लाग्नुपर्दछ । सबैको साथ सहयोगले मात्र यो अभियानको सफलता मिल्नेछ ।’

बिजुलीको पोलमा राखिएको फूलसहितको गमलाको संरक्षण गर्न छुट्टै संयन्त्र बनाउने तयारी पनि गरिएको प्रमुख पराजुलीले बताए । संरक्षण गर्न चाँडै गठन गरिने पनि उनले बताए । मेनरोड पछि हाइवे क्षेत्रमा पनि यो अभियानको थलानी गरिने प्रमुख पराजुलीले बताए । विराटनगरमा सडक पुनर्निर्माणको काम लगभग पूरा भएको बताउँदै सडकलाई अब सरसफाइमा ध्यान दिइएको बताए । सडक सफाइ र फोहोर व्यवस्थापनमा नागरिकको सहभागिता बढाउनुपर्नेमा उनले जोड दिए ।

रोटरी डाउनटाउनकी अध्यक्ष अर्चना तापडियाले विराटनगरलाई सुुन्दर बनाउने अभियान अन्तर्गत महानगरसँग सहकार्य गरिएको बताइन् । रोटरीका गभर्नर किरणराज श्रेष्ठले स्थानीय सरकारसँगको सहकार्यमा रोटरीले सामाजिक कामलाई तीव्र बनाइएको बताए । कार्यक्रम संयोजक रचना राठीले रोटरीले समाजमा नागरिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गरेको बताइन् ।