इनरुवा/ स्थानीय युवाहरूले इनरुवा बसचौकमा निःशुल्क भरपेट खाना खुवाउने अभियान थालेको एक साता पुगेको छ ।
५७ जना युवाको समूहले व्यक्तिगत एक हजारका दरले रकम सङ्कलन गरी थालेको अभियानमा अहिले सम्म ५ हजार जनाभन्दा बढीले निःशुल्क भोजन गरिसकेका छन् ।

गरिब, विपन्न र असहायलाई लक्षित गरी थालिएको अभियानमा सहयोगको ओइरो लाग्न थालेको छ । प्रारम्भमा तीन दिनको तयारीका साथ शुरु गरिएको अभियानमा सहयोगी दाताहरूबाट साथ र समर्थन जुट्न थालेपछि निःशुल्क कार्यक्रमले निरन्तरता पाउने सम्भावना समेत बढाएको छ ।

कार्यक्रम संयोजक सत्य यादवले दाताहरूबाट प्राप्त हुन थालेको सहयोगले अभियानको निरन्तरताको आस जगाएको बताए । हरेक दिन बिहान १० बजेबाट शुरु हुने निःशुल्क भरपेट खाना कार्यक्रममा भोजनका लागि पुग्नेको सङ्ख्या दिन प्रतिदिन थपिदै गएको उनले बताए । यादवका पछिल्ला केही दिनयता इनरुवा बाहेक आसपासका क्षेत्रबाट समेत खाना खान सर्वसाधारणहरू कार्यक्रम स्थलमा आउने गरेका छन् ।

निःशुल्क खाना अभियानमा इच्छुक दाताहरूका लागि सहयोग गर्न दान पेटिका समेत राखिएको छ । दान पेटिकामा सहयोग रकम खसाल्नेहरूको सङ्ख्या समेत बढेको आयोजक ५७ टोलीले जनाएको छ । आयोजक संस्थाका सल्लाहकार नारायण यादवका अनुसार दान पेटिका र कार्यक्रमका लागि सहयोग गर्ने दाताहरूबाट अहिले सम्म १ लाख ६८ हजार बढी नगद सहयोग प्राप्त भैसकेको छ । कार्यक्रम स्थलमा पुगेर चामल, दाल, नुन, तेल, तरकारी लगायतका खाद्यान्न सामग्री सहयोग गर्नेको सङ्ख्या समेत बढ्दै गएको आयोजकको भनाइ छ ।

अभियानलाई इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, वडाध्यक्ष श्यामदेव मेहतासहित स्थानीय व्यापारी, व्यवसायी, समाजसेवी लगायतका तर्फबाट नगद तथा चामल सहयोग उपलब्ध गराइएको छ । इनरुवाका नगरप्रमुख राजन मेहताले ३० बोरा चामल सँगै ४० हजार रकम सहयोग उपलब्ध गराएको बताए । युवाहरूको अभियान समाजसेवाको उत्कृष्ट उदाहरण बन्न सफल भएकाले आफूले व्यक्तिगत तर्फबाट निःशुल्क खाना अभियानका लागि सहयोग उपलब्ध गराएको मेहताले बताए । उनले नगरपालिकाको तर्फबाट समेत सहयोग जुटाउन पहल थालिएको जनाए ।

त्यसैगरी अभियानका लागि ४ नम्बर वडाअध्यक्ष श्यामदेव मेहताले २५ हजार नगद उपलब्ध गराउनुका साथै खानेपानीको सहजताका लागि अभियान स्थलमा ट्युबेल गाडिदिएका छन् । व्यवसायी जयप्रकाश साहले ११ हजार, कैलास पञ्चारियाले १० हजार, सवारी हाटबट्टी कर ठेकेदारका तर्फबाट १० हजारलगायत अन्य दाताहरूले समेत गच्छे अनुसारको सहयोग अभियानकालागि उपलब्ध गराएका छन् । निःशुल्क खाना अभियानमा जिप्रका सुनसरीले समेत जनशक्ति सहयोग उपलब्ध गराउँदै आएको छ । डीएसपी विनोद शर्मा आफैं कार्यक्रम स्थलमा पुगेर अभियानमा सहयोगीको भूमिमा निर्वाह गर्दै आएका छन् । भीडभाडको समयमा प्रहरी जनशक्तिलाई समेत सामाजिक कार्यमा सघाउन लगाउने गरेको शर्माले बताए ।

उद्योग वाणिज्य सङ्घ इनरुवाका अध्यक्ष विरेन्द्र साहले व्यापारीहरूबाट सहयोग जुटाउने क्रम थालिएको बताए । निःशुल्क खाना कार्यक्रमको निरन्तरताका लागि संस्थागततर्फबाट सहयोग प्रदान गर्ने विषयमा छलफल थालिएको समेत उनले जानकारी दिए । भरपेट खाना खुवाउने कार्यक्रममा आवश्यक भाँडाकुँडा र सागसब्जीको प्रबन्ध रामजानकी गुठी संस्थाले निःशुल्क मिलाइदिँदै आएको छ । महेन्द्र साहले टेण्ट र प्रकृति जलले निःशुल्क पानी उपलब्ध गराइरहेको कार्यक्रम संयोजक सत्य यादवले जानकारी दिए । पूर्वको विराटनगरबाट १० रुपैंयामा शुरु भएको भरपेट खाना खुवाउने अभियान झापा, इटहरीपछि इनरुवामा सञ्चालनमा ल्याइएको हो । झापामा ५ र इटहरीमा १५रुपैयाँमा भरपेट खाना खुवाउने कार्यक्रम सञ्चालनमा छन् । इनरुवाका स्थानीय युवाहरूले निःशुल्क खाना खुवाउने कार्यक्रम थालेसँगै उक्त अभियानप्रति स्थानीयमा चासो बढ्नुका साथै ऐक्यवद्धतासँगै साथ र सहयोग जुट्ने क्रम समेत बढेको छ ।