धरान । नेपाल खानेपानी संस्थान धरान शाखाको सम्पत्ति, दायित्व र जिम्मेवारी हस्तान्तरण गर्नका लागि बनेको मन्त्रालयस्तरीय मूल्याङ्कन समितिका संयोजकलाई संस्थानको पक्षमा वकालत गर्दै आएका धरानेहरूले घेरेका छन् ।

‘तपाईंहरूले उनीहरूको कुरा मात्रै सुन्ने के हामी धराने होइनौं, हाम्रो कुरा पनि तपाईंहरूले सुन्नुप¥यो’ दीर्घकालीन खानेपानी व्यवस्थापन सङ्घर्ष समितिका सहसंयोजकसमेत रहेका धरान–१८ बासी हर्क साम्पाङले भने, ‘हेर्नुस् हाम्रो कुरा भएन भने यहाँ के के हुन्छ ? कसरी संस्थानलाई बोर्डमा लानुहुन्छ हामी पनि हेरौंला ।’ उनीसहित भेला भएका संस्थान पक्षधरको आक्रोस सुनेपछि मूल्याङ्कन समितिका संयोजक चक्रपाणि शर्मा आचार्य अलमलमा परे । ‘यहाँ त यस्तो रहेछ, हामीलाई के थाहा ?’–उनले खुसुक्क भने ।

साम्पाङले पत्रकारहरूले आफूहरूको कुरा कहिल्यै नलेखेको भन्दै आक्रोस पोखे । ‘यी पत्रकारहरूले हाम्रा कुरा चाहिँ कहिल्यै लेखेनन्’–उनले भने । उनले पत्रकारहरूलाई तीन वटा कुरा लेख्न आग्रह गर्दै भने, ‘पहिलो खानेपानीका लागि आएको बजेट के केमा खर्च भएको छ, डिटेलमा सार्वजनिक गर्नुपर्छ, दोस्रो भूमिगत स्रोतबाट १ करोड ५२ लाख २० हजार लिटर पानी उत्पादन गर्छु भनेर सहमति गरेको छ, त्यो खानेपानी संस्थानको यो ट्यान्कीमा आउनुप¥यो । तेस्रो महसुल निर्धारण आयोगले तोकेको महसुल अनुसार पानी खुवाउछु भनेअनुसार नै महसुल निर्धारण गर्नुपर्छ ।’

धरानमा सन् २०१२ मा आएको एसियाली विकास बैङ्क (एडिबी) को ऋण अनुदानमा सञ्चालित एकीकृत शहरी विकास आयोजना (आइयुडिपी) अन्तर्गतको नेपाल खानेपानी व्यवस्थापन बोर्डले पानी वितरण गरिरहेको छ । अहिले संस्थानको सम्पत्ति, दायित्व तथा जिम्मेवारी हस्तान्तरणको लागि मूल्याङ्कन गर्न पुस ९ गते खानेपानी मन्त्रालयले ५ सदस्यीय समिति गठन गरिदिएको छ । सोही समितिले अहिले मूल्याङ्कनको कामहरू गरिरहेको छ ।

जसमा धरान उपमहानगरपालिकाको एक जना सदस्य रहने प्रावधान छ भने खानेपानी संस्थानकै एक जना सदस्य रहने व्यवस्था छ । जसमा खानेपानी मन्त्रालयको एक जना इञ्जिनियर सदस्य सचिव रहन्छन् । सदस्य सचिवसमेत रहेका इञ्जिनियर मधुसुधन खनालले अहिले पेपर वर्कका कामहरू भइरहेको बताए । संस्थानको सम्पत्ति, दायित्व र जिम्मेवारीका विषयमा पनि स्थलगत रूपमा बुझेर प्रतिवेदन तयार हुने बताए ।

संयोजक आचार्यले पनि खानेपानी संस्थानको सम्पत्ति मात्रै नभई यहाँका कर्मचारीले पाइरहेको सेवासुविधाका विषयमा बोर्डमा जाँदा कस्तो दायित्व रहने, जिम्मेवारी के रहनेलगायतका विषयलाई समेटेर प्रतिवेदन बुझाइने बताए ।