‘ताइ न तुइको पुरस्कार पाएर सरकार रमाउँछ,
बलात्कारी बाटोमा खुल्लै हिँड्छ,
सहमतिमा होटल छिरेको जोडीलाई
पुलिसले समाउँछ ।’.....

करिब एक वर्षअघि ‘कमेडी सर्कल’ मा सुनसरीकी सञ्जु कट्वालले प्रस्तुत गरेको समसामयिक र चोटिलो व्यङ्ग्यको एक टुक्रा हो यो । यो प्रस्तुति युट्युबमा हालसम्म करिब १० लाखले हेरिसकेका छन् । यो प्रस्तुतिसँगै सञ्जु स्ट्याण्ड अप कमेडीको क्षेत्रमा चिनिन थालिन् । त्यसपछि त उनका अन्तरवार्ता र कमेडीहरू आउन अझ धेरै आउन थाले ।

सुनसरीको वराहक्षेत्र नगरपालिका–२ बयरवनकी सञ्जुले पहिला धरानस्थित पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा पढिन् । पछि काठमाडौं पुगेर फुड टेक्नोलोजी पढेकी उनी हाल एउटा खाद्य उद्योगमा काम गर्छिन् । तर उनी फुर्सदको समय स्ट्याण्ड अप कमेडीलाई दिन्छिन् ।

शुरुमा एउटा सानो समूहमा हास्य व्यङ्ग्य प्रस्तुत गर्ने सञ्जुलाई कमेडी सर्कलमा निमन्त्रणा आयो । त्यहाँबाट तीनवटा भिडियो सार्वजनिक भएपछि उनी चर्चामा आइन् । त्यसपछि त उनको बारेमा नागरिक न्यूज नेटवर्कदेखि बिबिसीले समेत कभर गरे । उनी भन्छिन्, ‘हाम्रो कमेडी पार्टिकुलर ग्रुपले मन पराउँछ । नेपालमा यसको बजार भर्खरै बढ्दै छ ।’

स्ट्याण्ड अप कमेडीको क्षेत्रमा चिनिदै गरेकी सञ्जु अहिले कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको स्ट्याण्ड अप कमेडीयनहरूको प्रतियोगिता ‘कमेडी च्याम्पियन’ मा प्रतिस्पर्धा गरिरहेकी छन् । प्रतिस्पर्धामा उत्कृष्ट २४ सम्म पुगेर बाहिरिएकी सञ्जु अहिले पुनः उत्कृष्ट ७ का लागि प्रतिस्पर्धा गरिरहेकी छन् ।

आयोजकले प्रतियोगिताबाट बाहिरिएका १० जनालाई वाइल्ड कार्डबाट पुनः प्रवेश गराएको छ । १० मध्येबाट १ जनालाई प्रस्तुतिका आधारमा र १ जनालाई भोटका आधारमा उत्कृष्ट ७ मा लाने आयोजकको योजना छ । प्रस्तुतिका आधारमा एक जना छनौट भइसकेका छन् । अब बाँकी ९ बाट सबैभन्दा बढी भोट पाउने १ जना छानिनेछन् । सञ्जु त्यसैका लागि अहिले भोट मागिरहेकी छन् । उनलाई आज (शुक्रबार) १२ बजेसम्म विदेशबाट कमेडी च्याम्पियनको एपमार्फत् र नेपालबाट ई–सेवामार्फत् भोट गर्न सकिन्छ ।

उनले कमेडी च्याम्पियनको १८ औं एपिसोडमा प्रस्तुति दिइसकेकी छन् । उनको प्रस्तुति हेरेपछि वरिष्ठ हास्य कलाकार सन्तोष पन्तले तारिफ गर्दै सञ्जुले साधारण विषयवस्तुमा साधारण तरिकाले भित्रसम्म छुने प्रस्तुति दिएको बताएका थिए । उनले कार्यक्रममै भने, ‘सञ्जु आफैमाथि व्यङ्ग्य हान्न सक्छिन् । यो राम्रो कुरा हो ।’ कार्यक्रममा अतिथि भएर पुगेकी मिस नेपाल २०१८ शृङ्खला खतिवडाले पनि राम्रो प्रस्तुति दिएको भन्दै सफलताको शुभकामना दिइन् ।

चर्चित स्ट्याण्ड अप कमेडियन मनोज गजुरेलले नेपालमा स्ट्याण्ड अप कमेडीको क्षेत्रमा महिलाको आवश्यकता रहेको भन्दै सञ्जुलाई शुभकामना दिए । सञ्जु यही क्षेत्रमा भविष्य बनाउन चाहन्छिन् । उनी भन्छिन्, ‘दर्शकको साथ पाइरहे यही क्षेत्रमा स्थापित हुने सोच छ ।’