भण्टाबारी/ कोशी गाउँपालिकाको आयोजनामा आज (आइतबार)बाट कोशी पर्यटन महोत्सव शुरु हुँदैछ । कोशी पर्यटन महोत्सवको एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम छ । महोत्सवको तयारी भइसकेको आयोजकले जनाएको छ ।
कोशी गाउँपालिकाको कार्यालयले ५० हजारदेखि १ लाख पर्यटक भिœयाउने लक्ष्यका साथ कोशी पर्यटन महोत्सव गर्न लागेको हो । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउँदै एक नम्बर प्रदेश सरकारले लिएको ५ लाख पर्यटक भिœयाउने लक्ष्य पूरा गर्न कोशी गाउँपालिकाको कार्यालयले कोशी पर्यटन महोत्सव गर्न लागेको कोशी गाउँपालिकाले जनाएको छ । कोशीटप्पु वन्यजन्तु आरक्ष पश्चिम कुसाहामा हुने उक्त महोत्सवको पूर्वसन्ध्यामा शनिबार मोटरसाइकल ¥याली समेत गरिएको छ ।
कोशी गाउँपालिकाले माघ १९ गतेदेखि २९ गतेसम्म गर्न लागेको महोत्सवबारे जानकारी गराउने उद्देश्यले लौकहीदेखि चिरौली, प्रकाशपुर, मधुवन हुँदै श्रीपुर, हरिपुर हुँदै भण्टाबारीसम्म मोटरसाइकल ¥याली गरिएको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए । कोशी पर्यटन महोत्सव २०७६ नाम दिइएको महोत्सवको एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम तय भएको उनले बताए । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राईसँगै उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री जगदीश कुशियैत, प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला, स्थानीय तहका प्रमुख तथा उपप्रमुखका साथै भारतीय पाहुनाहरूको समेत उपस्थिति तय भएको छ ।
मुख्यमन्त्रीलाई हात्ती सफारी गराइने
कोशी पर्यटन महोत्सवको उद्घाटन गर्न आउने एक नम्बर प्रदेशका मुख्यमन्त्री राईलाई नहर चौकदेखि महोत्सवस्थलसम्म हात्ती सफारी गराउने तयारी गरिएको कोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरीले बताए । कोशीटप्पुको पहिचान झल्काउने उद्देश्यले मुख्यमन्त्रीलाई हात्ती सफारी गराउने तयारी गरेको गाउँपालिका अध्यक्ष अन्सारी बताउँछन् ।
मुख्यमन्त्रीलाई हात्तीको सफारी गराउनुका साथै चराको स्वर्णभूमि तथा अर्नाको राजधानी भनेर परिचित कोशीटप्पुका अन्य विशेषताहरूका बारेमा समेत जानकारी गराइने उनले बताए । नेपाल भ्रमण वर्ष २०२० लक्ष्य हासिल गर्न, आन्तरिक तथा वाह्य पर्यटन अभिवृद्धि गर्न, कोशीटप्पुलाई उत्कृष्ट पर्यटन स्थलका रूपमा चिनाउन, पर्यटन पूर्वाधार निर्माण गर्न, प्राकृतिक सम्पदाको पहिचान र व्यवस्थापन गर्न, सांस्कृतिक सम्पदाको संरक्षण सम्बद्र्धन महोत्सव आयोजना गर्न लागिएको बताइएको छ ।
१९ गतेबाट शुरु हुने सो महोत्सवमा विभिन्न जातजातिको झाँकी तथा सांस्कृतिक कार्यक्रम प्रदर्शन, कोशीटप्पुको विषयमा जानकारीमूलक ब्रोसर, पुस्तक, वृत्तचित्र प्रदर्शन तथा दुर्लभ चराहरूको अवलोकन, हात्ती सफारी, कोशी कटानबाट आरक्ष हुँदै कोशी ब्यारेजबाट राजाबाससम्म जल शयर, स्थानीय हस्तकला र कृषि उत्पादनहरूको ३० वटा स्टल प्रदर्शन, स्थानीय खानाका विभिन्न परिकारहरू, राष्ट्रव्यापी बीपी स्मृति कुस्ती प्रतियोगिता, पालिकास्तरीय खेलकुद प्रतियोगिता, स्वास्थ्य शिविर, चरा तथा कोशीटप्पुमा पाइने वन्यजन्तुको तस्बिरसमेत प्रदर्शन गराइनेछ ।