विराटनगर / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदिपकुमार भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवस–२०७६ का अवसरमा आज सन्देश जारी गरि प्रदेशवासीलाई शुभकामना दिएका छन् ।

मुख्यमन्त्री राईले जारी गरेको सन्देशमा प्रजातन्त्र प्राप्तिका लागि भएको सङ्घर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने महान् वीरशहीदलाई स्मरण गरेका छन् । मुख्यमन्त्री राईले सन्देशमा २००७ साल फागुन ७ गतेका दिन निरङ्कुश जहानियाँ राणाशासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झना गरी मनाइरहेको उल्लेख गर्दै आजको दिन देशलाई लामो समयसम्म निरङ्कुश, जहानियाँ, तानाशाही र एकतन्त्रीय शासन व्यवस्थाबाट मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको दिन रहेको बताए ।

यसैगरि सभामुख भण्डारीले २००७ साल फागुन ७ गते जहानियाँ राणाशासनको अन्त्य भएको दिनलाई उत्सवको रुपमा सबै नेपालीहरुले मनाउने गरिएको बताएका छन् । उनले शहीदका अधुरा सपना पूरा गर्न सकारात्मक सोचका साथ तमाम नेपाली अघि बढ्नु पर्ने सन्देशमा भनिएको छ ।