देउराली/ धरान–५ स्थित देउराली–खैरेनी जोड्ने अँधेरी खोलाको पक्की पुल निर्माण कार्यमा ठेकेदार कम्पनी एच.एम. विल्डर्सको सुस्तताका कारण ठेक्का अवधि सकिए पनि पुलको काम आधा पनि सकिएको छैन ।

२ वर्षभित्र निर्माण कार्य सक्ने गरी सडक विभागबाट ठेक्का पाएको इनरुवाको निर्माण कम्पनीले ठेक्का अवधि समाप्त भएको ८ महिना बितिसकेको छ । पुलको निरीक्षण गर्दै आएको पुल आयोजना सेक्टर वान धरान कार्यालयकी सव–इञ्जिनियर विनिता साहले पुलको म्याद गत असारमै समाप्त भएको बताइन् ।

साहले पुल निर्माणमा सुस्तता आएपछि विभिन्न चरणमा लिखित तथा मौखिक ताकेता गर्दा पनि ठेकेदार र हसवुल मियाँले कुनै चासो नदेखाएको बताइन् । उनले भनिन्, ‘पिलर निर्माण भइसकेको छ, स्ल्याव ढलाइका लागि ताकेता गर्दा ब्यारिङ भारतबाट ल्याउनुपर्ने भएकोले काम रोकेको बताएको छ । तर स्ल्याव ढलाइबाहेक पनि धेरै कामहरू छन्, तर काम भइरहेको छैन ।’

उनले पुल निर्माणको म्याद थप भए–नभएको आफूलाई थाहा नभएको बताइन् । ८ महिना देखि नै कहिले जेसिवी बिग्रेकाले ढलान गर्ने ठाउँ सम्याउन नपाएको त, कहिले रड बुन्ने काम भइरहेको तथा सेटिङको काम भइरहेको भन्दै आएको स्थानीयहरू बताउँछन् ।

७ करोड ५० लाख बजेटमा बन्दै गरेको १ सय २५ मिटर लम्बाइ र ११ मिटर चैडाइको पुलको ठेक्का मियाँको कम्पनीले पाएदेखि नै मजदुर र आवश्यक सामग्री उपलब्ध नगराउँदा ३२ महिनामा पिल्लर हाल्ने काम मात्र भएको स्थानीय बताउँछन् ।

पुलको ठेक्का कतिमा लागेको हो ? कसले ठेक्का पाएको ? ठेक्का अवधि कति समयको हो ? जस्ता सामान्य जानकारीसमेत नगरार्ई काम थालिएको बताउँदै स्थानीय जसबहादुर लिम्बू भन्छन्, ‘पुल बनाउने भनेर आए, करिब ६ महिनासम्म काम पनि थालेनन्, काम थाले देखि महिनामा १० दिन जति राम्रो काम भएको छ, अरूबेला प्रायः बन्द नै रहन्छ ।’

ठेकेदारले पटक–पटक कामदार ल्याउने र आवश्यक सामग्री उपलब्ध नगराउनाले कामदार काम छोडेर हिँड्ने गरेको लिम्बूको भनाइ छ । ठेकेदारले समयमा कामदारलाई तलब तथा ज्याला नदिएपछि स्थानीयसँग दाल, चामल राखेर गाडीभाडा माग्ने गरेको लिम्बू बताउँछन् ।

५ महिनाअघि जाली लगाउन भनेर ठेकेदारले ल्याएका कामदारहरूलाई काम गर्न जाली र ढुङ्गा उपलब्ध नगराएपछि कामै छाडेर उनीहरू फर्किएको स्थानीय हरि रम्तेलले बताए । उनले भने, ‘भएका एक–दुईजना कामदारहरू पनि यहाँबाट काम छाडेर जान चाहन्छन्, हामीले रोकेर राखेका छौं ।’

पुल निर्माण गर्न थालेको लामो समय बित्दा पनि स्थानीय जनप्रतिनिधि तथा राजनैतिक दलका अगुवाहरू निरीक्षण गर्न नआएको स्थानीय चित्र लावती गुनासो गर्छन् ।

कामदारहरू काम छाडेर हिँडेपछि स्थानीयलाई जाली लगाउने ठेक्का दिइएको छ । तर आवश्यक सामग्री नहुँदा १५ दिनदेखि काम नभएको स्थानीय अमर राईले बताए । उनले भने, ‘करिब १५ दिन अघिदेखि ठेकेदारसँग सम्पर्क छैन । करिब ५५ हजार लिनु पर्नेछ ।’

यसअघि वराहक्षेत्रको वयरबन—पट्नाली सडक–खण्डको ठेक्का पाएको सो कम्पनीले समयमै काम नसक्दा ठेक्का रद्द भएको थियो । आयोजना सेक्टर वान धरान कार्यालयका पूर्व कार्यालय प्रमुख, इञ्जिनियर कैलाश रौनियार यो ठेकेदार कम्पनीले कहीँ पनि राम्रोसँग काम नगरेको बताउँछन् । उनी भन्छन्, ‘पटक–पटक काम राम्रोसँग गर्न भनेर पत्र नै पठाइएको छ । फिल्डमा जाँदा २ जना मान्छे खोलामा ढुङ्गा टिप्दै गरेको भेटिन्छ ।’

म्याद थप गरिए पनि ठेकेदारले काम गर्न नसक्ने स्थानीय पदम कार्की दाबी गर्छन् । हाल पुल निर्माणस्थलमा २ जना मात्र कामदार छन् । कम्पनीका प्रतिनिधि विनोद साहले ठेकेदारले आर्थिक अभाव भएको बताउने गरेको जानकारी दिए ।

धरान उपमहानगरपालिकाभित्र पुल बन्दै गरेको भएपनि उपमहानगरपालिकाका इञ्जिनियर सुरज श्रेष्ठले भने यसबारे आफूलाई थाहा नभएको बताए । उनी भन्छन्, ‘यो हाम्रो क्षेत्राधिकार भन्दा बाहिरको हो ।’ ठेकेदार हसवुल मियाँलाई पटक–पटक फोन सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन ।