ब्लाष्टखबर । २२ औं  बुढासुब्बा गाेल्डकपकाे आज हुने खेलमा बेलबारी फुटबल क्लब र  मनाङ मर्स्याङ्ग्दी क्लब रहेका छन् । मुख्यमन्त्री कप प्रदेश लिगको उपविजेता बेलबारी र सम्पन्न सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो भएको टोली मनाङ मर्स्याङ्ग्दी बिच हुने  ३ बजे धरान १६ मा रहेकाे रंगशालामा खेल हुदैछ । 

बेलबारी फुटबल

क्लब बूढासुब्बा गोल्डकपमा पहिलो पटक सहभागी बनिरहेको बेलबारी फुटबल क्लबले यसै वर्षबाट ठूला प्रतियोगितामा सहभागिता जनाउन थालेको छ । २०७० सालमा स्थापित क्लबले प्रदेश १ कपको उपविजेता बनेसँगै ठूला प्रतियोगिताले सहभागी गराउन थालेको छ । छोटो समयमै क्लब मोरङको जिल्ला स्तरीय प्रतियोगितामा तीन पटक च्याम्पियन बनिसकेको छ ।

२०७२/७३, २०७३/७४ र २०७५/७६ को मोरङ च्याम्पियन बनेको बेलबारीले यसपटक तीन ठूला गोल्डकपमा आफ्नो सहभागिता जनाए पनि उत्कृष्ट प्रदर्शन भने गर्न सकेको छैन । बूढासुब्बामा ४–३–३ को फर्मेसनमा मैदानमा उत्रिन लागेको क्लबसँग पूर्व राष्ट्रिय खेलाडीदेखि युवा खेलाडीहरूसमेत सम्मिलित छन् ।

पूर्व राष्ट्रिय खेलाडीमा नवीन गुरुङ, बिक्रम धिमाल, ए डिभिजन क्लबका भुषण सुब्बा, एनस मगर छन् । त्यस्तै गोलरक्षकमा अजित प्रजापति छन् । बेलबारीका लागि मिडफिल्ड विवेक पौडेल, विनोद अधिकारी, किरण लिम्बू, मौसम सुब्बा छन् । ‘यि खेलाडीहरू नै हाम्रो टिमका चल्न सक्ने खेलाडीहरू हुन्’–क्लबका महासचिव शङ्कर सुवेदी भन्छन् ।

मनाङ मर्स्याङ्ग्दी

तीन पटक बूढासुब्बा गोल्डकप विजेता मनाङ मस्र्याङ्ग्दी क्लब चिरपरिचित क्लब हो । यस पटकको लिगमा तेस्रो बनेको मनाङ गत वर्षको लिग लिडर हो ।

लिग समापन लगत्तै झापाको शिवसताक्षी नगरपालिकामा सम्पन्न सताक्षी गोल्डकपमा आयोजकसँग पराजित भएर बूढासुब्बामा उपस्थिति जनाउँदै छ । राष्ट्रिय खेलाडीले भरिभराउ रहेको मनाङमा फरवार्ड लाइनमा विमल राना, अभिषेक रिजाल, रञ्जन विष्ट छन् । त्यस्तै मिडफिल्डमा दयानन्दसिंह, पुजन उपरकोटी, अञ्जन विष्ट, निशान लिम्बू, उमेश राई, जीवन गुरुङ छन् ।

डिफेन्सलाइनमा कमल श्रेष्ठ, सुरज विक, सोरोन, एकराज बुढाथोकी, लुइस भिडाल, राजकुमार पण्डित अदित्य चौधरीजस्ता खेलाडीहरू रहेका छन् । त्यस्तै गोलरक्षकः दीप कार्की मुख्य हुन् भने अशोक बराल सहायक हुन् । तीन जना विदेशी खेलाडीसहित मैदानमा उत्रिन लागेको मनाङ सन् १९८२ मा स्थापित क्लब रहेको व्यवस्थापक मिलन गुरुङ बताउँछन् । मनाङमा २०७४ भदौमा डेब्यु गरेका अञ्जन विष्ट नै क्लबका लागि भरपर्दा खेलाडीमध्ये एक हुन् । गत वर्षको लिगमा ५ गोल र यसपटकको लिगमा ६ गोल गरिसकेका उनले राष्ट्रिय टिमबाट भने २ गोल गरेका छन् ।