धनकुटा/ प्रथम चौबिसे रनिङ कप फुटबल प्रतियोगिता–२०७६ को उपाधि वडा नं. ७ मौनाबुधुकले उचालेको छ ।
प्रतियोगिताको फाइनल खेलमा वडा नं. ६ राजारानीलाई १–० गोलले पराजित गर्दै उपाधि वडा नं. ७ मौनाबुधुकले उचालेको हो । उपाधिमाथि कब्जा जमाएसँगै मौनाबुधुकले नगद ५० हजार, शिल्ड, ट्रफी र प्रमाण–पत्र हात पारेको छ । उपविजेता वडा नं. ६ राजारानीले नगद ३० हजार, शिल्ड, ट्रफी र प्रमाण–पत्रमा चित्त बुझाएको छ । प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा मौनाबुधुकका युगेन लिम्बूले गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।
त्यस्तै तेस्रो स्थानको लागि भएको खेलमा वडा नं. ३ कुरुलेतेनुपाले वडा नं. ८ वसन्तटारलाई ४–२ गोलले पराजित गरेको छ । टाइब्रेकरमा वसन्तटारलाई कुरुलेतेनुपाले हराएको थियो । कुरुलेतेनुपा तेस्रो भएसँगै नगद १५ हजार, शिल्ड, ट्रफी र प्रमाण–पत्र हात पारेको छ । विजेताहरूलाई प्रदेश नम्बर १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले पुरस्कार वितरण गरेकी थिइन् ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री गजमेरले यस्ताखालका खेलकुद प्रतियोगिताले गाउँका कुना–कुनामा रहेका प्रतिभाहरूलाई बाहिर ल्याउन सहयोग पुग्ने बताइन् । खेलको माध्यमद्वारा राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सकिने बताउँदै मन्त्री गजमेरले खेलकुदको विकासको लागि प्रदेश सरकारले प्रशस्त बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
विभिन्न स्थानीय तहहरूले पदको नाममा मेयर कप, अध्यक्ष कप नामाकरण गरेर खेल खेलाउने चलन रहे पनि सबैको अपनत्व हुने गरी गाउँपालिकाको नाममा चौबिसे रनिङ कप फुटबल प्रतियोगिता नामाकरण गरी प्रतियोगिता सञ्चालन गरिएको चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए । यस वर्षदेखि शुरु गरिएको प्रतियोगिताको पुरस्कारको राशि थोरै भए पनि आगामी दिनमा पुरस्कारको राशि वृद्धि गर्दै लैजाने गाउँपालिकाका अध्यक्ष राईले बताए ।