ताप्लेजुङ/ पाथीभरा म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलुङ राईले जितेका छन् ।

निर्धारित ५४ किलोमिटरको दूरी कुलुङले ४ घण्टा १३ मिनेट २७ सेकेण्डमा पार गरेका हुन् । पाँचथरका प्रताप थाम्सुहाङ दोस्रो भएका छन् । उनले निर्धारित दुरी ४ घण्टा १४ मिनेट ९ सेकेण्डमा पूरा गरे ।

यस्तै रुकुमका दीर्घराज बुढा तेस्रो भए । विहान ७ः५० बजेबाट शुरु भएको म्याराथनमा पुरुष तर्फ एक सय धावकले सहभागिता जनाएका थिए । म्याराथनका विजेताले नगद १ लाख ५१ हजार १११, द्वितीयले नगद १ लाख ११ हजार १११ र तृतीय हुनेले ५१ हजार १११ रुपैयाँ प्राप्त गरे ।

यता महिला म्याराथनको उपाधि जुम्लाकी सुनमाया बुढाले जितेकी छन् । उनले निर्धारित ४५ किलोमिटरको दूरी ३ घण्टा ३८ मिनेट ५५ सेकेण्डमा पार गरिन् ।

त्रिभुवन आर्मीका सरिता बासी दोस्रो र धादिङकी रमिला तामाङ तेस्रो भएका छन् । महिला म्याराथनमा २४ जनाको सहभागिता रहेको थियो । विजेताले नगद ८१ हजार १११ रुपैयाँ, द्वितीय हुनेले नगद ५१ हजार १११ रुपैयाँ र तृतीय हुनेले ३१ हजार १११ रुपैयाँ पाउने छन् ।