सङ्खुवासभा/ सङ्खुवासभाको सिलिचोङ गाउँपालिका वडा नं. २ बालामा रहेको सय वर्ष पुरानो बौद्ध स्तूपा तोडफोड गरी त्यसभित्र रहेको पुराताŒिवक धातुहरू चोरी भएको छ ।
गत फागुन ११ गते तोडफोड भएको स्तूपामा रहेको मूर्ति प्रहरीकै निगरानीमा हुँदाहुँदै चोरी भयो । तोडफोड गरी भत्किएको उक्त स्तूपा र मूर्तिको सुरक्षाको लागि सिसुवाटार प्रहरी चौकीबाट प्रहरी टोली खटाइएको थियो । उक्त प्रहरी टोलीको सुरक्षाको बीच छोडिएको उक्त मूर्ति पनि तोडफोडको भोलिपल्ट राति चोरी भएको छ ।
घटनास्थलमा खटिएका दुई जना प्रहरीले सुरक्षा गर्दा गर्दै उक्त मूर्ति चोरी भएको हो । उक्त मूर्ति पनि चोरी भएको बिहान उज्यालो भएपछि मात्र थाहा भएको वडानम्बर २ का अध्यक्ष मोहनसमशेर कुलुङले बताए । पुनः चोरी घटनाको बारेमा प्रहरीसँग बझ्दा नजिकै रहेको घरमा खाना खान गएको बेला चोरी भएको हुनसक्ने अध्यक्ष कुलुङले बताए ।
बालामा एउटै समयमा दुईवटा स्तूपा भत्काइएको थियो । उक्त स्तूपाभित्र बहुमूल्य वस्तुहरू रहेको स्थानीयले बताएका छन् । उक्त वस्तुहरू चोरी गर्नकै लागि स्तूपा भत्काइएको वडाध्यक्ष कुलुङले बताए । वि.सं. १९७९ मा स्थापना गरिएको उक्त स्तूपाभित्र सोही समयमा राखिएको पुराताŒिवक वस्तुहरू रहेको स्थानीय जानकारहरूलाई उद्धृध गर्दै कुलुङले बताए । वर्षाैं अघिदेखिको मुद्रा, सुन, चाँदी, तामालगायतका धातुहरू स्तूपाभित्र राखिएको ज्येष्ठ जानकारहरूले बताएको अध्यक्ष कुलुङको भनाइ छ ।
सिलिचोङ क्षेत्रमा पछिल्लो समय चोरीको घटना बढ्दो अवस्थामा रहे पनि सुरक्षा व्यवस्था कमजोर रहेको स्थानीयको आरोप छ । चोरीका पीडितहरूले प्रहरीमा उजुरी दिए पनि अहिलेसम्म कोही पनि कारबाहीको दायरामा आउन नसक्नुले अनुसन्धान अत्यन्तै फितलो रहेको स्थानीयको भनाइ छ ।
प्रहरीबाट कुनै पनि घटनाको गहन अनुसन्धान नहुँदा आपराधिक मानसिकता भएकाहरूलाई प्रश्रय मिलेको स्थानीय इन्द्रबहादुर कुलुङको भनाइ छ । केही वर्षअघि उक्त घटनास्थलनजिकै रहेको बाला मा.वि.को भवन तोडफोड गरी कम्प्युटर चोरी गर्नेको पनि पहिचान हुन सकेको थिएन । दुई हप्ताअघि सिलिचोङ गाउँँपालिकाको कार्यालयपरिसरमा रहेको मोटरसाइकल चोरी गर्ने पनि अहिलेसम्म पत्ता लाग्न सकेको छैन । सिसी टिभीको फुटेजसमेत प्रहरीलाई उपलब्ध गराए पनि अहिलेसम्म चोरी गर्नेको पहिचान हुन सकेको छैन ।
घटनाहरूको अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी मिमबहादुर लामाले बताए । जिल्लामा पर्याप्त प्रहरी जनशक्ति नहुँदा अनुसन्धानको नतिजा आउन ढिलो भएको लामाको भनाइ छ । थोरै जनशक्ति भए पनि निरन्तर अनुसन्धान भइरहेकोले ढिलो चाँडो कारबाहीको दायरामा आउने डिएसपी लामाले दाबी गरे । यसको लागि स्थानीयले पनि अनुसन्धानमा सहयोग गर्न उनले आग्रह गरे । सबै ठाउँमा सुरक्षाकर्मीले मात्र सुरक्षा दिन नसक्ने भएकोले स्थानीयले पनि आफ्नो सम्पत्ति सुरक्षित राख्नुपर्ने डिएसपी लामाले बताए ।