धनकुटा । धनकुटा नगरपालिका वडा नं.१ ओक्मालुङमा प्राकृतिक रुपमा रहेको सात तले लुङधाङ गुफा हेर्न हिजो आज आन्तरिक पर्यटयहरुको घुँइचो लाग्ने गरेको छ ।
नगरपालिका क्षेत्रमा मात्र बसोबास रहेको स्थानिय आठहपरिया समुदायका लुङ्गधाङहाङ्ग छाेराको पुर्खाले बास गरेको करिब १ सय मिटर उचाईको अजङ्गको ढुंगाभित्र सात तले गुफा रहेको छ । २ वर्ष अघि सो गुफा फेला पारेपछि हिजो आज त्यहा रहेको अनकाै किसिमका प्राकृतिक दृश्य हेर्न र गुफामा रमाउन आन्तरिक पर्यटकहरुको घुँइचो लाग्ने गरेको हो ।

लुङ भनेको लिम्वु भाषाबाट ढुङ्गा, धाङ्ग भनेको उभिएको अजंङ्गको ढुङ्गा उभिएकाले स्थानिय लिम्वु वा आठपहरिया जातिको मातृ भाषामा लुङधाङ्ग भनिएको ओक्मालुङ्ग लुङ्धाङ गुफा पर्यटन विकास समितिका अध्यक्ष शुक्रराज आठपहरियाले बताए । उनले आठपहरिया भाषामा ओक्मालुङ्ग भनेको भाले बासेको जस्तो देखिने ढुङ्गाको स्वरुप रहेकाले सो स्थानलाई ओक्मालुङ सात तले लुङधाङ्ग गुफा भनिएको बताएका छन् ।

विगतमा घाँस दाउरा गर्न ओक्मालुङ्ग जंगल क्षेत्रमा जाने स्थानीयहरुले ढुंगाको भित्रि भागबाट गुफा रहेको अनुमान पहिले देखी नै गर्दै आएका थिए । सोही क्रममा स्थानीय आठपहरिया समुदायका केही युवाहरुले विभिन्न तला रहेको आकर्षक गुफा पत्ता लगाएको स्थानिय केशर छाराहाङ आठपहरियाले बताए । गुफाको संरक्षण र प्रचार प्रसारको लागी स्थानिय उपभोक्ताहरुले भौतिक पुर्वाधारको क्षेत्रमा काम गर्न थालेका छन् । सो क्षेत्रमा हिजो आज आन्तरिक पर्यटकहरुको चहलपहल बढ्दै गएको आठपहरियाले बताएका छन् ।