बिर्तामोड/ झापाको बिर्तामोडमा सञ्चालित ‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’ को विजेता तथा उपविजेतालाई ५ महिना बितिसक्दा पनि पुरस्कारबापतको रकम दिइएको छैन ।

आयोजक जायोन स्पोर्ट्स क्लबले प्रतियोगिता सम्पन्न भएको ५ महिना बिते पनि पुरस्कार दिन नसकेको हो । पुरस्कार रकम प्राप्त नभएपछि विजेता टोली त्रिभुवन आर्मी क्लबले एन्फामा उजुरी गरेको छ । आर्मीको उजुरीपछि झापाको खेलकुद वृत्तमा यस विषयमा उत्पन्न विवाद उत्कर्षमा पुगेको छ । आयोजक जायोन स्पोटर््स क्लबले झापा जिल्ला फुटबल सङ्घको असहयोगका कारण प्रतियोगिता घाटामा गएको आरोप लगाएको छ ।

फुटबल सङ्घका अध्यक्ष भगिरथ आलेले आश्वासनअनुसारको सहयोग नगरेको आयोजक क्लबको गुनासो छ । क्लबका अध्यक्ष भक्त खवासले राम्रो टिम र खेलाडी ल्याउन सङ्घले असहयोग गरेको, झापामा सबैभन्दा बढी दर्शक बटुल्न सफल हुँदै आएको झापा ११ टिमलाई बेवास्ता गरेको र प्राप्त हुने चन्दामा समेत फुटबल सङ्घले उचित पहल नगरेको आरोप लगाएका छन् ।

झापा जिल्ला फुटबल सङ्घका अध्यक्ष आलेले भने क्षमताभन्दा ठूलो प्रतियोगिता आयोजना गर्नु र घाटा लागेपछि अरूलाई दोष लगाउनु गलत भएको बताएका छन् । उनले भने, ‘जायोन क्लबले झापा गोल्डकपको विपक्षमा गएर प्रतियोगिता आयोजना गरेको हो, मैले अफसिजन भएकाले प्रतियोगिता नगर्नू भनेको थिएँ, दर्शक आएनन् अनि घाटामा गयो ।’ तोकिएको पुरस्कार रकम नदिएर जायोन क्लबले ठगी गरेको आरोप उनले लगाए । उनले पुरस्कार रकम नदिएको विषयमा एन्फाले छानबिन गरेर कारबाही अघि बढाउनेसमेत उनले बताए ।

आयोजकले पुरस्कार रकम भुक्तानीका लागि चैत्र मसान्तसम्मको समय लिएको खवासले बताए । उनले भने, ‘चैतभरिमा पुरस्कारको रकम प्रदान गर्ने तयारी छ, प्रतियोगिता घाटामा गएर रकम दिन नसकेको निश्चय नै हो, हामी अब त्यसको व्यवस्थापनमा जुटेका छौं ।’ उनले प्रायोजकले कबोल गरेको रकम दिन नसक्दा पुरस्कार रकम समयमा प्रदान नगरिएको समेत बताए । झापा गोल्डकपको चर्चालाई हेरेर दर्शक बटुल्ने अपेक्षासहित प्रतियोगिता आयोजना गरेको भए पनि दर्शकको उपस्थिति न्यून भएका कारण तोकिएको रकम दिन नसकेको हो ।

यसअघि कहिले पनि ठूला खेलकुदका गतिविधिमा सक्रिय नभएको जायोन स्पोर्ट्स क्लबले जिल्लामा दोस्रो ठूलो धनराशि पुरस्कार भएको प्रतियोगिता आयोजना गरेको थियो । क्लबले कात्तिक १६ गतेदेखि २४ गतेसम्म आयोजना गरेको प्रतियोगितामा विजेता टिमलाई १२ लाख ५० हजार र उपविजेता टिमलाई ६ लाख २५ हजार रुपैयाँ पुरस्कार दिने बताएको थियो । गतवर्ष सम्पन्न झापा गोल्डकपले १२ लाख ५५ हजार रुपैयाँ पहिलो पुरस्कार प्रदान गरेको थियो । असोज ११ गतेदेखि १८ गतेसम्म प्रतियोगिता आयोजना गर्ने भनिए पनि वर्षाका कारण खेल सरेको थियो । जायोनले दुवै पुरस्कार बापतको १८ लाख ७५ हजार रुपैयाँ दिन सकेको छैन ।