धरान /  मिस नेपाल २०२० को धरान अडिसनमा ६ जनाले सहभागीता जनाउन पाएका छन् । ५।४ इन्च उंचाई , प्लस २ पास र १८ बर्ष काटेको अबिबाहित युवतीले मात्र अडिसनमा भाग लिन पाउने नियम रहेकोले १२ जना सहभागी भएकोमा अधिकांश उंचाई कम भएकोले अडिसनमा भाग लिन पाएनन् ।
अडिसन दिन पाउनेहरु धरान , इटहरी र धनपालथान गाउँपालिका,मोरंगबाट रहेका थिए । मिस नेपाल २०१७ निकिता चंडक र मिस नेपाल अर्थ २०१९ रिया बस्नेत निर्णायक रहेको अडिसनमा उनीहरुले गरेको कुराकानी , प्रस्तुति , आत्मविश्वास , बौद्धिक स्तरमापन को आधारमा अंक दिएको र नेपालको ८ वटा ठाउँको अडिसन सकिएपछि आगामी चैत्र १५ गते काठमाडौँको होटल अन्नपूर्णमा अन्तिम अडिसन राखिएको छ । उक्त अडिसन पछि सम्पूर्ण प्रतियोगीहरुबाट अंकको आधारमा अन्तिम २५ जनामा छनोट गरिने आयोजक हिडन ट्रेजरले जनाएको छ ।
छनौट पछि हरेक वर्ष कार्यक्रमको दौरान प्रदान गरिने विशेष रुपमा तयार गरीएका तालिमहरु विभिन्न विधामा ख्याती प्राप्त व्यक्तीत्वहरु सगँको साक्षात्कारहरुको माध्यमबाट गरिनेछ भने मिस नेपालको सुरुवात देखि को ट्रेनर तथा कोरियोग्राफर रचना गुरुङ शर्माको कोरियोग्राफी रहनेछ भने यो बर्ष उनलाई सह –कोरियोग्राफरको रुपमा प्रियारानी लामाले सघाउनेछन् ।
प्रत्येक वर्ष मिस नेपाल विजेताहरुलाई प्रदान गरिदै आएको पुरस्कारको रासी यो वर्षबाट बढाएर प्रति विजेता रु दुई लाख पचास हजार दिईनेछ । यो बर्षका बिजेताहरुले मिस वर्ल्ड , मिस अर्थ , मिस इन्टरनेशनल र मिस सुपर नेशनल मा नेपालको प्रतिनिधित्व गर्नेछन ।