धरान । ‘लक डाउन’ ले धेरैलाई ‘लक’ अर्थात् कुजो झैं बनाएको छ । तर, यही ‘लक डाउन’ लाई भरपूर सदुपयोग गर्नेहरू पनि हाम्रो समाजमा प्रसस्तै पाइन्छन् ।

घरमै दिनभरि बस्दा ‘बोर फिल’ गर्नेहरूलाई समाजका ऐनाका रूपमा रहेका साहित्यकार तथा कविहरू भने लेखपढ र सिर्जनात्मक कार्य गरेर बिताउनका लागि सल्लाह दिन्छन् । जे गरे पनि सिर्जनात्मक कार्य गरेमा ‘लकडाउन’ फलदायी बन्ने उनीहरूको सुझाव छ । अन्य समयमा हतारोहतारमा बिताउने साहित्यकारहरू यतिबेला फुर्सदिला बनेका छन् । थुप्रै समयदेखि बाँकी रहेका किताबहरूलाई पुस्तकारको रूपमा ल्याउने हतारोमा लागेका छन् ।

के गर्दैछन् त धरानका साहित्यकार तथा कविहरू, हामीले केही खोतल्ने प्रयास गरेका छौंः

समालोचक तथा साहित्यकार प्रा.डा. टङ्क न्यौपाने

अहिले तीन–चारवटा समालोचना लेख्दै छु । पाँचथर गएर आएको थिएँ । दुईतीनवटा किताब थमाइदिएका छन् । त्यसमध्ये माओवादी नेता श्रीप्रसाद जवेगूको एउटा कथा सङ्ग्रह रहेछ । हेरिदिनुप¥यो भनेकाले त्यो पनि हेर्दैछु । अरू तीन–चारवटा किताबको समालोचना गर्दै छु । अन्य बेला फुर्सदै निस्किदैन थियो । लकडाउनका कारणले गर्दा हेर्ने फुर्सद मिलेको छ ।

दुम्माली राई जातिको व्याकरण पनि तयार गरिरहेको छु । राष्ट्रिय जनगणना २०६८ अनुसार ६ हजार ६ सय ६० जनसङ्ख्या रहेको दुम्मालीमा बोल्न सक्ने पाँच सय पनि रहेनछन् । त्यसैले यो भाषाको व्याकरण तयार गर्नमा लागेको छु । अहिले एकेडेमिक, प्राज्ञिक काममा नै व्यस्त छु । अहिले पनि लेखिनै रहेको छु ।

समालोचक तथा साहित्यकार प्रा.डा. भीम खतिवडा

लेख्ने पढ्ने काममै व्यस्त भएको छु । एकोहोरो पढिरहँदा बोरिङ भयो भने फिल्म हेर्छु । मैले आफैले लेखेको थेसिसको ‘वेदना’ शीर्षकको महाकाव्यलाई परीक्षण गर्दै छु । जसमा भारतलगायत विभिन्न देशमा बेचिएका नेपाली चेलीहरूको कथा छ । अर्को सिद्धार्थ बुद्धको महाकाव्य थियो । बुद्धको सून्यवादको दर्शन र जीवनीलाई समेटिएको छ । एकान्तवासको बेला अर्को एउटा काम भनेको चाहिँ उपेन्द्र पागल सरले लेख्नुभएको उराँव जातिको संस्कृतिसम्बन्धी पुस्तकको सम्पादन गर्ने काम गरिसकेँ ।

समालोचक तथा साहित्यकार डा. रमेश घिमिरे

मैलेचाहिँ यो अवसर असाध्यै राम्रो तरिकाले बिताइरहेको छु । लामो समयसम्म ‘पेण्डिङ’ रहेको लेखपढका कामलाई निरन्तरता दिँदै छु । केही किताबहरूको सम्पादन गर्ने कामहरू हुँदै छ । केही कविता सङ्ग्रहको भूमिका लेख्ने काम पनि गर्दै छु ।  लेखपथमा गतिलो गरी बित्दै छ । दुई–तीनवटा अभिनन्दन ग्रन्थको सम्पादन गर्ने काम पनि यसैबीचमा चलिरहेको छ । समय नै अभाव होला जस्तो पो भइरहेको छ ।

कवि बम देवान

ल्यापटप खोलेर गुगलबाट युरोप, एसियाका शहरहरूको अध्ययन गरिरहेको छु । यी शहरहरू कसरी बसेका छन् भनेर अध्ययन गरिरहेको छु । समुद्रको छेउमा पनि भव्य र आलिसान महलहरू देख्दा हाम्रो देशमा चाहिँ बैङ्कहरूले खोलाखोल्सी तथा नदीको छेउका जग्गालाई लगानी नगरेको पाउँदा यो हेरेर दुखित बनेको छु । ती बाहेक फुटकर कविता लेखेर नै दिन बित्दै छ । हिजै मात्र भियतनाममा अमेरिकाले दिएको दुःखको विषयमा चित्त नबुझेर त्यही सम्बन्धी एउटा कविता लेखिसकेँ । पृथ्वीनारायण शाहको बारेमा पनि हेर्दै छु । पृथ्वीनारायणको उदय कसरी भयो, कसरी राज्य विस्तार गरे । उनको भूमिका के रह्यो । त्यही अध्ययन गरिरहेको छु ।

आख्यानकार सरण राई

अहिले कथाहरू पढ्दै छु । फेसबुकमा लघुकथाहरू पनि पोष्ट गरिरहेको छु । फिल्महरू हेरेर दिन पनि बित्दै छ । चाइनिज, अङ्ग्रेजी फिल्महरू हेरेर बसिरहेको छु । हङ्कङमा बसोबास गर्दै आएका शिव प्रधानको दुई वटा कथा सङ्ग्रहका कथाहरू पढ्दै छु । २२ वटा कथाहरू रहेछन् । आफैले लेखेका केही कथाहरूलाई पुनः परिमार्जन गरिरहेको छु । फूली शीर्षकको कथा लेखेको थिएँ । लघुकथाहरू पनि लेख्दैछु । लेखपढमै व्यस्त भइएको छ ।