ताप्लेजुङ । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण ताप्लेजुङमा रोकिएका पर्यटकको उद्धार गर्ने तयारी गरिएको छ ।

सरकारले उद्धार उडानमार्फत जिल्लाका विभिन्न स्थानमा लकडाउनका कारण रोकिएका पर्यटकको उद्धार गर्न लागेको हो । यसका लागि जिल्लामा कति विदेशी नागरिक छन् भन्ने तथ्याङ्क संकलन गर्न शुरु गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका प्रमुख स्वकीय सचिव प्रेम गुरागाईले जानकारी दिए ।

‘ताप्लेजुङमा अहिले कति विदेशी पर्यटक रोकिएका छन् त्यसको यकिन तथ्याङ्क छैन । यकिन तथ्याङ्क आएपछि उद्धार गर्छौ’–गुरागाईले भने । यसैबीच जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सूचना जारी गर्दै आफ्नो होटलमा विदेशी नागरिकहरू भए सोको जानकराी दिन होटल व्यावसायीहरूलाई आग्रह गरेको छ ।

निकट भविष्यमै उद्धार उडान गरी काठमाडौं लैजान प्रक्रिया अगाडि बढेकाले आफ्नो विवरण आ–आफ्नो देशको दूतावास तथा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलले जानकारी दिए ।