बेलबारी / मोरङको बेलबारी–५ कसेनी स्थित लोहन्द्र पुलमा शुक्रबार दिउँसो भएको ग्याङफाईटमा मृत्यु हुने ४० वर्षीय चन्द्रबहादुर राईको झगडा छुट्याउने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

निर्माण हुँदै गरेको पुलमा सेक्युरिटी गार्डको रुपमा काम गर्दै आएका चन्द्रकुमार दुई पक्ष बिचको झगडा बढ्दै गएपछि छुट्याउन गएका थिए । तर झगडा गर्नेहरुले चन्द्रकुमारमाथि नै धारिलो हतियार प्रहार गरेको मोरङ प्रहरीका प्रवक्ता डिएस्पी मान ब राईले बताए । गम्भीर घाइते उनको उपचारको क्रममा मृत्यु भएको हो ।

सुरुमा जितेन चौधरी सहितको समूहले खुकुरी र बन्चरो लगायतका हतियारले प्रहार गरेपछि दोहोरो झडप भएको प्रहरीले जनाएको छ । झगडा छुट्याउने क्रममा घाइते भएका राईको उपचारका क्रममा मोरङको बूढीगंगा स्थित विराट शिक्षण अस्पतालमा शुक्रवार दिउँसो ३ बजे मृत्यु भएको थियो ।

स्थानीय ३२ वर्षीय जितेन चौधरी, २५ वर्षीय दिनेश श्रेष्ठ, ३२ वर्षीय सन्तोष मगर र विक्रम राईको समूह र ४२ वर्षीय सईकुमार राई, ३२ वर्षीय समुन्द्र राई र १६ वर्षीय गौरव राईको समूह बीच झडप भएको प्रहरीले जनाएको छ ।

झगडा गर्ने दुवै पक्ष छिमेकी हुन् । विहिवार शाँझ देखी मादक पदार्थ सेवन गरेका दुई पक्ष विच सामान्य बिवादबाट सुरु भएर शुक्रवार दिउँसो ‘ग्याङ फाइट’ भएको थियो ।

घटनामा सईकुमार, समुन्द्र र गौरव गम्भीर घाइते भएका छन् । उनीहरुको विराटमै उपचार भइरहेको प्रहरीले जनाएको छ । अर्को समूहका पनि चौधरी घाइते छन् । सामान्य अवस्थाका उनको बेलबारीस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।


घटनामा संलग्न मध्ये पाँच जनालाई शुक्रवार नै प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा ग्रामथान–६ बस्ने बर्ष–३८ को बिशाल कुमार खवास गच्छदार, बेलबारी–५ बस्ने बर्ष–३१ को राजेन भन्ने राजिन्द्र राई (थुलुङ) र ग्रामथान–६ बस्ने ३४ को जितेन्द्र चौधरी, बर्ष ३१ को दिपेन्द्र चौधरी, बर्ष ३२ को बिरेन्द्र कुमार खाँ रहेको मोरङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।