बेलबारी / मोरङको बेलबारी ५ कसेनी स्थित लोहन्द्र पुलमा शुक्रबार दिउँसो दुई पक्षबीच भएको झडपमा परेर एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । ‘ग्याङ फाइट’मा परेर ४० वर्षीय चन्द्रकुमार राईको मृत्यु भएको मोरङ प्रहरीले जनाएका छ ।
प्रहरीका अनुसार घटनामा परेर घाइते भएका राईको उपचारका क्रममा मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो । स्थानीय ३२ वर्षीय जितेन चौधरी, २५ वर्षीय दिनेश श्रेष्ठ, ३२ वर्षीय सन्तोष मगर र विक्रम राईको समूह र ४० वर्षीय चन्द्रकुमार राई, ४२ वर्षीय सईकुमार राई, ३२ को समुन्द्र राई र १६ कोे गौरव राईको समूहबीच झडप भएको मोरङ प्रहरीका प्रवक्ता डिएस्पी मानबहादुर राईले बताए ।
उनीहरु दुवै पक्ष एकआपसका छिमेकी हुन् । सुरुमा चौधरीको समूहले खुकुरी र बन्चरो लगायतका हतियारले प्रहार गरेपछि दोहोरो झडप भएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेका दुई पक्षबीच बिहीबार बेलुकैदेखि सामान्य विवाद रहेको र त्यही विवाद शुक्रबार दिउँसो १ बजे झडपमा परिणत भएको डीएसपी राईले बताए ।
अघिल्लै दिनको रिसईबीका कारण भएको ‘ग्याङ फाइटमा’ एक जनाले ज्यान गुमाएको प्रहरीको भनाइ छ । उनीहरुबीचमा बिहीबार के विषयमा विवाद भएको थियो भन्ने खुल्न बाँकी रहेको प्रवक्ता राईले बताए । घटनामा परेर सईकुमार, समुन्द्र र गौरव गम्भीर घाइते भएका छन् । उनीहरुको विराट शिक्षण अस्पतालमा मै उपचार भइरहेको छ। अर्को समूहका पनि चौधरी घाइते भएका छन् । सामान्य अवस्थाका उनको बेलबारीस्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न दिनेश श्रेष्ठ, सन्तोष मगर र विक्रम राई फरार रहेकाले खोजी भइरहेको डीएसपी राईको भनाइ छ ।