बेलबारी/ बेलबारी नगरपालिकाले ‘कृषिलाई पहिलो प्राथमिकता’ मा राखेपछि एक युवाले नर्वे जाने तयारीलाई छाडेर ड्रागन फलको खेती थालेका छन् ।

सिउँडी प्रजातिको यो फल अहिले नेपालको अधिकांश भू–भागमा लगाउन थालिएको छ । बेलबारी नगरले कृषि गर्न चाहने युवाहरूलाई सस्तो ब्याजमा रकम दिने नीतिगत निर्णय गरेपछि बेलबारी–८ का तारा सापकोटा नर्वेको सपनालाई त्यागेर ड्रागन फलको खेतीमा जुटेका हुन् । उनका अनुसार नर्वे लाने ‘दलाल’ ले उनलाई १३ लाख रुपैयाँ तयारी अवस्थामा राख्नका लागि आग्रह गरेका थिए । त्यसका लागि उनले ऋण पनि खोजेका थिए तर, एकाएक नगरको कृषिसम्बन्धी निर्णयले उनलाई तान्यो । फलतः अहिले उनी नर्वेको सपना त्यागेर ड्रागन फल खेतीमा लागेका हुन् ।

नगरपालिकाले नगरसभाले नै ‘कृषिलाई पहिलो प्राथमिकता’ मा राखेको छ । ‘दुई–तीन कठ्ठामा खेती गर्ने योजना थियो, नगरपालिका पुग्दा १० कठ्ठा जमिनमा गर्नुस्, नगरले सहयोग गर्छ भन्नुभयो’ उनले भने, ‘त्यसपछि विदेश जाने सपना त्यागेर यतै लागेको छु ।’ उनका अनुसार ऋण खोजेको १३ लाख रुपैयाँ पनि खेतीका लागि खर्च गरिरहेको छु ।’ उनले आइतबार बिरुवा पनि रोपेका छन् । बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बिरुवा रोपेर उद्घाटनसमेत गरिदिए । प्रमुख सुवेदीले ‘आफ्नै माटोमा पसिना बगाउँछौं, केही गर्छौं’ भन्नेलाई सहयोग गर्न तयार रहेको बताए ।

नगरपालिकाले धितोबिना सहुलियत कर्जाबापत २ प्रतिशत ब्याजदरमा समूहमा खेती गर्नेलाई ५ लाख रुपैयाँसम्म ऋण दिने कार्यक्रम अगाडि सारेको छ । बेलबारी नगरले त्यसका लागि बैङ्कसँग सहकार्य गरेको छ । नगरले २० करोडभन्दा बढी रकम कृषक समूहलाई दिने लक्ष्य लिएको छ । चालु आर्थिक वर्षमा पावरटिलर, मकै थ्रेसर, मिनीटिलर, ड्रागन फुड खेती तथा गोलासहितको माहुरीको घार वितरण गर्ने कार्यक्रमसमेत अगाडि बढाएको प्रमुख प्रशासकीय अधिकृत प्रदीप साहले बताए । प्रत्येक वडाले ५ लाख मूल्य बराबरको फलफूलको बिरुवा कृषकलाई वितरण गर्ने गरी नगरसभाले निर्णय गरेको छ । बेलबारीमा ११ वटा वडा रहेका छन् ।