पथरी । राष्ट्रिय स्टाकाइकरसहित दर्जन बढी फुटबलर जन्माएका मोरङको पथरीशनिश्चरे नगरपालिकामा फुटबल इतिहासमै नयाँ आयाम थपिने भएको छ ।
स्थानीय युवाहरुले नगरमा ‘पथरीशनिश्चरे फुटबल प्रिमियर लिग–२०७७’ प्रतियोगिता गरी फुटबल इतिहासमा नयाँ आयाम थप्न लागेका हुन् । लिग कम नकआउटको आधारमा हुने फुटबल प्रतियोगितामा नेपालको स्थानीय तहमै पहिलो भएको आयोजकको दाबी छ ।
पथरीशनिश्चरे नगरमा यसरी फुटबल खेल क्षेत्रमा नयाँ आयाम थप्न संजिव गिरी, बिक्की राई, मनि सुब्बा, दीपक राई (ए डिभिजन स्टाइकर), दीपक पुलामी मगर (पूर्व चर्चित खेलाडी), भक्त राई, सुमन कुरुङ्बाङ्ग र नामहाङ्ग राई लागिपरेका छन् ।
यी हुन् पहिलो लिगमा भिड्ने क्लबहरु
पथरीशनिश्चरे नगरमा हुने पहिलो लिगमा हाइवे युथ क्लब, वाइजीएफटी, दि रियल ब्रोदर, हेरिका न्यु स्टार, १० नबोदय, सिरिजंङ्गा, देविगञ्ज र शिखर फुटबल क्लबहरु च्याम्पियनको लागि भिड्नेछन् ।
यी क्लबहरुको खेलाडी खरिद, खाजा पानी, जर्सी, बुट लगायतमा कम्तिमा २ लाख खर्च हुने हेरिका न्यु स्टार क्लवका रोहित बास्तोलाले बताए । क्लबमा लगानी गर्नेहरु स्थानीय व्यवसायी र फुटबल खेलप्रति चासो राख्ने व्यक्तिहरु रहेका छन् ।
पथरीमा फुबटबलको इतिहास
संघीय गणतन्त्र स्थापनापछि पथरीशनिश्चरे नगरपालिका पूर्वी मोरङको पथरी, शनिश्चरे र हसन्दह गाविस मिलेर बनेको नगरपालिका हो । नगरको सदरमुकाम साविक पथरी गाविसको पथरी बजार रहेको छ ।
यो क्षेत्रको फुटबल इतिहास हेर्दा ३५ बर्ष भन्दा लामो देखिन्छ । पथरीमा सन् १९८५मा तत्कालीन केदार एङ्देन लिम्बूको नाम खगाडि आउँछ । लिम्बूको नेतृत्वमा पथरी फुटबल च्याम्पियन कप फुटबल प्रतियोगिता गराएर पथरीले जितेको ट्रफी सुरक्षित रहेको पथरीशनिश्चरे खेलकुद परिषदको अध्यक्षसमेत रहेका मनि लिम्बूले बताए ।
केदार लिम्बू वर्तमान वडा नम्बर १ का अध्यक्ष बाबुराम एङ्देनको बुबा हुन् ।
त्यसपछि पथरीमा धेरै प्रतियोगिताहरु हुने नै भए । केदार एङ्देन लिम्बूपछि पथरीमा भीम सुब्बा र दीपक पुलामी मगर स्टार खेलाडीको रुपमा उदाए । यी दुई खेलाडीले नेपालको धेरै प्रतियोगिताहरुदेखि विभिन्न देशमा समेत खेल्न भ्याए ।
पूर्वी नेपालमा भीम सुब्बा र दीपक पुलामीको खेल हेर्न दर्शक आकर्षित हुन्थे ।
फुटबल खेल क्षेत्रकै विकासको लागि विस २०७० र २०७१ मा पथरीका युवा समाजसेवी धनकुमार तामाङको नेतृत्वमा ‘पथरी गोल्ड कप’ पहिलो र दोस्रो सफल भयो । यो प्रतियोगिताले पथरीमा खेलाडीको विकास मात्र गरेन पथरीलाई देशव्यापी रुपमा चिनाउने काम समेत ग¥यो ।
पथरीबाट उद्यका खेलाडीहरु
पथरीका दीपक राई हाल ए डिभिजन क्लब मछिन्द्र क्लबका स्टाइकर हुन् । उनै दीपक राईले मछिन्द्रलाई गत सिजनको राष्ट्रिय लिग जिताएका हुन् ।
राई राष्ट्रिय टिमको प्रतिनिधित्व गर्दै नेपालको विभिन्न क्लबमा आबद्ध भएर खेल्दै आएका स्टार खेलाडी हुन् ।
पथरीबाट उत्पादन भएका मिन धिमाल, साइमन लिम्बू नेपालकै चर्चित फुटबलर हुन् । ए डिभिजनमा आबद्ध यी खेलाडीहरु व्यवसायिक रुपमै खेल्दै आएका छन् ।
त्यसैगरी मनोज दाहाल अन्डर १६ को राष्ट्रिय टिमका गोल रक्षक हुन् । ‘बी’ भिडिजनमा सुबास तामाङ, सन्तोष न्यौपाने, लालबहादुर लिम्बू, युकेश तामाङ, मन्दिप धिमाल खेल्दै आएका छन् ।
‘सी’ डिभिजनमा निलम लिम्बू, बिशाल पाण्डे, मञ्जिल खड्का, मनोज गुरुङ खेल्दै आएका छन् भने असिम राई अन्डर १६ को राष्ट्रिय टिमबाट खेलेका खेलाडी हुन् ।
फुटबल खेल विश्वमा अधिकांशले चिनेको र मन पराएको मध्ये एक हो । फुटबलप्रति चासो राख्नेहरु प्रति विश्व कप होस् वा दक्षिण एसियन (विश्वको क्षेत्रीय गेमहरु) र राष्ट्रिय लिग तथा स्थानीय स्तरमा हुने गोल्ड कपहरु हुँदा चाडपर्व झैं रमाउने दर्शकको कमी छैन ।