पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे–१ स्थित यलम्बर चोकमा रहेको एक पसलबाट विक्री भएको बासमती चामलमा मरेको मुसा र औषधिकाे पाेकाे फेला परेको छ ।

पथरी शनिश्चरे २ स्थित हस्तबहादुर जैराई दर्जीका छोरा श्यामको शुक्रबारको विवाहका लागि अटल किराना पसलबाट किनिएको चामलका ४ वटा बोरामा त्यसप्रकारको अखाद्य बस्तु फेला परेको हो । जय हिन्द राइस ट्रेडर्स अलिपुर दिल्ली भारतबाट उत्पादित र प्याकिङ गरिएको ‘फर टु फर बास्मति राइस’ नामक बास्मति चामलको २५ किलोग्राम दरका ४ बोरा चामलमा त्यस्तो समस्या देखिएको थियो । ४ वटै बोरामा १÷१ वटा औषधी जस्तो देखिने झुम्रोमा रहेको बस्तु र त्यसमध्येको एउटा बोरामा मरेको मुसा फेला परेको थियो ।

प्याकिङ गरिएको २४ महिनासम्म प्रयोग गर्न उचित हुने लेखिएको बोरा सन् २०१८ मा प्याकिङ गरिएको देख्न सकिन्छ । तर बोराको माथिल्लो भागमा रहने दोहोरो धागोको प्याकिङ खोलेर त्यसको केही मुनी एकसरो धागोले सिलाएको बोरा देखिएपछि थप आशंका पैदा भएको वडा नम्बर २ का अध्यक्ष यामप्रसाद गुरागाईले बताए । उनका साथै वडा सदस्य अग्नीप्रसाद गुरुङ सहितले चामलमा अखाद्य अवस्था फेला परेको जानकारी पाएपछि शुक्रबार विहानै त्यहाँ पुगी अनुगमन् गरिएको थियो । सो अवस्थाका बारेमा पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेतलाई जानकारी गराई संघले आवश्यक छानविन गर्नका लागि अखाद्य अवस्थाका चामलका ती बोरा समेत बुझाइएको छ ।

चामल विक्रेताले भनें कम्पनीबाटै प्याकिङ गरेर आएकाले त्यसबारे आफुलाई केही थाहा नभएको बताएको छ । आफुले कम्पनीसँग सम्पर्क गर्दा घुन लाग्न नदिन औषधि राखिएको तर मुसाका सम्बन्धमा थाहा नभएको कम्पनीले बताएको संघका अध्यक्ष बस्नेतले जनाए । सो सम्वन्धमा आवश्यक छानविन गरिने उनले बताए ।