भद्रपुर । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष तथा महिला एकदिवसिय क्रिकेट प्रतियोगिताका लागि झापामा शुक्रबारदेखि प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगितामा नेपाल क्रिकेट सङ्घ (क्यान) मा आबद्ध प्रदेश नम्बर १ का १४ वटा जिल्लामध्ये झापा, इलाम, मोरङ, सुनसरी र उदयपुर गरी पाँच वटा टिमले भाग लिएका छन् ।
पाँच वटा जिल्लाबाट महिला र पुरुष गरी १० वटा टिम रहेका छन् । सोही टिमहरूबाट महिला र पुरुष खेलाडी छनोट गरी प्रदेश नम्बर १ स्तरीय टिम गठन गरिने झापा जिल्ला क्रिकेट सङ्घका अध्यक्ष प्रवीण थापाले जानकारी दिए ।
छनोट प्रतियोगिता भद्रपुरको मेची रङ्गशाला, कनकाईको सुरुङ्गा र मेचीनगरको काँकडभिट्टामा एकैसाथ सञ्चालन भइरहेको छ ।
मेची रङ्गशालामा शुक्रबार एक कार्यक्रमका बिच प्रादेशिक क्रिकेट छनोट प्रतियोगिताको उद्घाटन गरिएको छ ।
प्रदेश क्रिकेट सङ्घ प्रदेश १ का अध्यक्ष मिङमा डन्डु शेर्पाको अध्यक्षता तथा भद्रपुुर नगरपालिका मेयर जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको हो ।
मेयर श्रेष्ठले बलिङ र झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले ब्याटिङ गरी प्रतियोगिताको उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै क्रिकेट सङ्घ झापाका अध्यक्ष प्रवीण थापाले पहिलो पटक झापा जिल्लामा प्रदेशस्तरीय क्रिकेट खेलाडी छनोट हुन लागेको बताए । खेलकुदको विकाससँगै परिवर्तनका लागि एक व्यक्ति एक पद हुनुपर्ने बताए ।
मेची रङ्गशालामा आयोजित उद्घाटन खेलमा झापा र इलाम बिच प्रतिस्पर्धा भएको टिम मेनेजरमा तुलसी कार्कीले जानकारी दिए ।
नेपाल क्रिकेट सङ्घले यही पुस ११ गतेदेखि काठमाडौँमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष तथा महिला प्रतियोगिता गर्न लागेको हो ।
प्रदेश स्तरीय खेलमा छनोट भएका खेलाडीहरू प्रदेश १ को टिमबाट सोजै प्रधानमन्त्री कप प्रतियोगितामा सहभागिता हुने पाउने व्यवस्था रहेको प्रदेशका मुख्य चयनकर्ता लाक्पा लामाले जानकारी दिए ।
उनका अनुसार काठमाडौँमा हुन लागेको प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेशका गरी १० टिमको सहभागिता रहने छ ।