धरान । दुव्र्यसनमा फसेकाको उपचार गर्दै आएको धरानको सञ्जीवनी पुनस्र्थापना केन्द्रले पहिलो पटक खुला सञ्जीवनी फुटसल प्रतियोगिता गराउने भएको छ । 

धरान फुटसलमा पुस २३ र २४ गते प्रतियोगिता गराउने आइतबार पत्रकार सम्मेलनमार्फत् जनाइयो । प्रतियोगितामा काठमाडौं, सुनसरी, मोरङ, र झापाका गरी ३२ टिम सहभागी गराइने अध्यक्ष सम्पूर्ण ताम्राकारले बताए । ‘अधिकतम ३२ टिम सहभागी गराउने योजना हो,’ उनले भने । 

विजेताले ५१ हजार र उपविजेताले नगद ३१ हजार रुपैयाँसहित ट्रफी पाउनेछन् । त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र म्यान अफ दी म्याचलाई ट्रफी प्रदान गरिने प्रतियोगिता संयोजक अनिल सुनामले बताए । 

प्रतियोगिताबाट संकलित रकममध्येबाट केन्द्रमा उपचाररत अतिविपन्न पाँचजना बिरामीलाई निःशुल्क उपचारका लागि पहल गरिने सचिव मनिष मास्केले बताए । उनका अनुसार तेह्र वर्षको अवधिमा करिब ४ हजार दुव्र्यसनमा फसेकाको उपचार गरिएको छ । संस्था २०६५ सालमा स्थापना भएको हो । 

संस्थाले यसअघि फुटबल खेलाउँदै आएको थियो भने पहिलो पटक फुटसल प्रतियोगिता गराउन लागेको संस्थाका पदाधिकारीले जनाए । भोलि (सोमबार) पत्रकार र आयोजकबीच मैत्रीपूर्ण फुटसल खेलिने भएको छ । त्यस्तै इटहरीका घाइते बास्केटबल खेलाडी प्रदीप गुरुङलाई पनि सहयोग गरिने कार्यक्रम रहेको अध्यक्ष ताम्राकारले बताए । 

प्रतियोगिता सम्पन्न भएसँगै फुटसल मैदान अगाडिको धर्मपथको तीन स्थानमा जेब्राक्रसिङ निर्माण गरिदिने भएको छ । पुरस्कारहरू विभिन्न संस्थाले सहयोग गरेको अध्यक्ष ताम्राकारले जनाए ।