धरान। इटहरी उपमहानगरले सडक किनारमा झुपडी बनाएर बस्ने विपन्न मुसहर परिवारका लागि वडा १६ स्थित टिहिटी टोलमा आधारभूत सुविधायुक्त घर निर्माण गरिदिएको छ ।
उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीका अनुसार उपमहानगरपालिकाले वडा १६ र १७ का भित्री सडक सञ्जालहरू विस्तार गर्दा विस्थापित भएका विपन्न मुसहर परिवारलाई नयाँ घरमा बस्न दिइनेछ । उनले भने, ‘उपमहानगर विपन्न परिवारको हितमा गम्भीर छ ।
उनीहरूको आर्थिकस्तर उकास्न र व्यवस्थित आवासमा बसाउनकै लागि टिहिटी टोलमा सामूहिक बस्ती निर्माण गरिएको हो ।’ सडक निर्माण गर्दा विस्थापित भएकामध्ये ९ परिवारलाई अबको तीन साताभित्र पहिलो चरणमा ती घरहरू हस्तान्तरण गर्ने तयारी भएको प्रमुख चौधरीले बताए ।
इटहरी उपमहानगर र तराई मधेस समृद्धि कार्यक्रमको सहकार्यमा ७७ लाख रुपैयाँ लगानीमा ती घरहरू निर्माण गरिएका हुन् । विपन्न मुसहरहरूलाई घर हस्तान्तरण गरिए पनि बस्ने व्यक्तिले खरिद बिक्री गर्न भने पाउँदैन ।
उपमहानगरले टिहिटी टोलमा ५० घर निर्माण गर्ने योजना रहेको जनाएको छ । उपमहानगरका उपप्रमुख लक्ष्मी गौतमले अति विपन्न मुसहर परिवारका लागि निर्माण गरेको सामूहिक बस्तीभित्र बाटो, खानेपानीको धारा, विद्युत्, शौचालय, चिल्ड्रेन पार्क, सामुदायिक भवन बनाएको बताइन् । उनले भनिन्, ‘घर प्राप्त गर्ने विपन्न मुसहर परिवारको पहिचान भइसकेको छ ।’