विजयपुर । नेपालको राष्ट्रिय फुटबल टिमबाट फुटबल खेल्दै आएका प्रकाश बुढाथोकी भारतको मणिपुरको नेरोका क्लबमा एसियाको तर्फबाट अनुबन्धित आइलिग खेल्ने भएका छन् ।
भारतमा भइरहेको आइलिग ए डिभिजन क्लबहरु खेल्ने राष्ट्रिय लिग हो । लिग एसियामा प्रतिष्ठित मानिन्छ । उक्त लिगमा ४ जना विदेशी खेलाडी खेलाउन पाउने प्रावधान रहेको छ । ४ जना मध्ये १ जना एसिया हुनैपर्ने व्यवस्था रहेको छ । प्रकाशले भने, ‘म एसियाको खेलाडी कोटामा परेकाले खेल्न लागेको हो ।’
उनी एजेण्टमार्फत नभई सिधै फुटबल क्लबसँग कुरा भएर खेल्न लागेको बताए । उनले आफुलाई ठुलो अवसर प्राप्त भएको वताउँदै उत्कृष्ट प्रर्दशन गर्न प्रयास गर्ने वताए । धरान–२० पटनालीका २७ वर्षीय बुढाथोकीले सहिद स्मारक ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको ३ पटकका विजेता हुन् । उनले दुई पटक थ्रि स्टार क्लबबाट र एक पटक मनाङ मस्याङ्दी क्लबबाट ‘ए’ डिभिजन प्रतियोगिता जितेका थिए । उनी भुटानको ‘ए’ डिभिजनमा पारो फुटबल क्लबबाट २०१८ मा उपविजेता बनेका थिए । उनी नेपालबाट खेल्ने दोस्रो खेलाडी हुन् । उक्त क्लबमा खेल्ने पहिलो खेलाडी किरण चेमजोङ हुन् । उनले २ वर्ष पहिले खेलेका थिए ।
बुढाथाेकी प्रतिस्पर्धाका लागि भारत प्रस्थान गर्नुअघि धरान फुटबल क्लबले शोमबार एक कार्यक्रमको आयोजना गरि शुभकामनासहित विदाई गरेको छ । धरान–१२ चतरालाइनस्थित धरान फुटबल क्लबको कार्यालयमा आयोजित कार्यक्रमका अध्यक्ष किसोर राईले धरान फुटबल क्लबले उत्पादन गरेका खेलाडीले एसियामा नै प्रतिष्ठित मानिने लिगमा खेल्न सक्ने भएकोमा खुसी ब्यक्त गरे । उनले भने, ‘ प्रकासका लागि ठुलो अवसर हो, उत्कृष्ट प्रदर्शन गरेमा आई.एस.एल. पनि खेल्न पाउँछाैं ।’
प्रमुख अतिथि एवं क्लबका संरक्षक मिनकुमार सुब्बाले प्रकाश उक्त लिगमा खेल्नु पाउनु धरान मात्र नभएर नेपालकै नाम उच्च बनेको वताए । कार्यक्रममा वरिष्ठ पत्रकार हर्ष सुब्बाले प्रकाशलाई उत्कृट प्रर्दशन गरेर नेपालको नाम राख्न आग्रह गरे । कार्यक्रममा अन्य अतिथि र खेलाडीहरुले खादा लगाएर विदाई गरेका थिए । क्लबका अध्यक्ष राईले भारतीय ५ हजार रुपैयाँ पनि दिएका छन् ।