मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकामा प्रदेश १ स्तरीय प्रथम खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता आज (शनिबार) बाट सञ्चालन हुँदै छ ।

भलिबल नेपालको राष्ट्रिय खेल हो । कोरोना भाइरस महामारीका कारण लामो समयदेखि खेलकुद क्षेत्र ठप्प रहेको थियो । खेलकुद क्षेत्रलाई चलायमान बनाउनका लागि यस प्रतियोगिताले मद्धत गर्ने अपेक्षा लिइएको छ ।

गाउँपालिका कार्यालयको प्रायोजनमा मिक्लाजुङ –७ स्थित मनोहर जनता माध्यमिक विद्यालयको खेलमैदानमा मिक्लाजुङ युवा समूहले प्रतियोगिता आयोजना गर्ने भएको हो ।

प्रतियोगितामा प्रदेश १ का विभिन्न जिल्लाबाट १२ टिमको सहभागिता रहेको छ । आज झापाको दमक र पाँचथरबीच पहिलो खेल हुने छ । आजै हुने दोस्रो खेलमा मोरङको उर्लाबारी नगरपालिका र सुनसरीको रामधुनी नगरपालिकाबीच प्रतिस्पर्धा हुने छ ।

भलिबल प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सबै तयारी पूरा भएको खेल सञ्चालन समितिका सदस्य महावीर राईले जानकारी दिए । उनका अनुसार प्रतियोगिताका लागि आवश्यक प्रचारप्रसार पनि गर्ने काम भइरहेको छ ।

प्रतियोगितामा प्रथम र द्वितिय हुने टिमले क्रमस नगद एक लाख एक हजार रुपैयाँ र ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिता आगामी माघ २७ गतेसम्म सञ्चालन हुने छ ।