पूर्व प्रधानमन्त्री तथा नेकपा प्रचण्ड– माधव समूहका नेता झलनाथ खनालले दुईचार हजार मान्छे भेला गरेर केपी ओलीले दुई तिहाई बहुमत ल्याउलाने कुरा पत्याउन नसक्ने उद्घोष गरेका छन् ।

खनालले भगेरोको बच्चोको कथा सुनाउँदै भने, ‘एउटा भँगेरोको बच्चो उडेर बाँसको टुप्पामा बसेछ, मान्छेले बाँस नुहाइदिएछ, भगेरोले आमालाई गएर भनेछ, म धेरै नै बढेछु आमा, बाँसको टुप्पोमा बस्दा नुह्यो, आमाले भनिछन्, हो बाबु तिम्रो खुट्टी हेर्दै पत्याएँ, मिस्टर केपी ओली तपाईंका खुट्टी हेर्दै पत्यायौंः तपाईले दुई तिहाई होइन जमानत जफत हुनेछ ।’

खनालले दुई वर्षपछिको चुनावमा मेची महाकालीका १६५ सिटमा केपी ओलीको जमानत जफत हुने बताए । 

यो दुई गुटको  आन्दोलन नभएको बताउँदै खनालले पशुपति नाथमा गएर ओलीले संकल्प पूजा गर्न थालेको बताए । उनले विज्ञानमाथि विश्वास नभएर पशुपतिनाथ पुगेको बताए । खनालले यो संघर्षलाई विजयको विन्दुसम्म नपुगी नबिसाउने बताए । 

खनालले भने, ‘संसद पुनस्थापना गरौं, संविधानको रक्षा गरौं ।’