बिर्तामोड (ब्लाष्ट) नेपालमा उत्पादित मरिच, सुपारीजस्ता नगदेबाली बजारमा निस्किने समयमा सरकारले आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेपछि नेपाली किसान निराश भएका छन् । सरकारले स्थानीय उत्पादनलाई प्राथमिकता दिएको भनिए पनि आयात खुल्ला गरेपछि उत्पादनले बजार नपाउने चिन्तामा उनीहरू छन् ।
सरकारले परिमाणात्मक बन्देज खुल्ला गरेको बताएको छ । तर, कति परिमाणमा आयात गर्न दिने भन्ने बारे मन्त्रालयले सार्वजनिक गरेको छैन । व्यापारीको दबावमा आयातमा चलखेल गर्नका लागि परिमाण गोप्य राखेर बन्देज खुल्ला गरिएको हुनसक्ने आशङ्का गरिएको छ । आयात खुल्ला गरेसँगै नेपाली उत्पादनको मूल्य अस्वभाविक रूपमा घट्न थालेको व्यापारीको भनाइ छ ।
विदेशबाट आयात गर्दा नेपाली उत्पादनले बजार नपाउने कृषकको गुनासो छ । सुपारी व्यवसायी सङ्घ झापाका अध्यक्ष हेमलाल गुरागाईंले आयात प्रतिबन्ध फुकुवा भएसँगै मूल्यमा गिरावट आएको बताए ।
आयात प्रतिबन्ध हुँदा प्रतिकिलो ५ सय रुपैयाँमा कारोबार भएको सुख्खा सुपारी दुई–तीन दिनको अवधिमा ४ सय रुपैयाँमा झरेको उनी बताउँछन् । ‘विदेशबाट आयात हुन थालेपछि नेपाली सुपारीको मूल्य प्रतिकेजी तीन सय रुपैयाँसम्म हुने हाम्रो अनुमान छ’ गुरागाईंले भने, ‘मध्य र पश्चिम नेपालका उद्योगहरूले हाम्रो सुपारी खरिद गर्दै आएका छन्, पहिले खरिद गरेको सुपारी पनि अब घाटा खाएर बिक्री गर्नुपर्ने बाध्यता आउने अवस्था छ ।’
कतिपय व्यापारीले काँचो सुपारी ४० देखि ५० रुपैयाँसम्ममा खरिद गरेर प्रशोधन गरेका छन् । ्िवदेशबाट आयात हुन थालेपछि ती सबै सुपारी व्यापारी घाटामा जाने चिन्तामा रहेको उनीहरूको भनाइ छ । अझ धेरै मूल्य पाउन सुपारी बिक्री गरिनसकेका किसान भने मूल्य घट्ने भयका कारण चिन्तित बनेका छन् ।
व्यापारीले खरिद गरेको मूल्यभन्दा पनि सस्तोमा बिक्री गर्नुपर्ने अवस्था आएको गुरागाईंले बताए । ‘मैले तीनहजार क्विण्टल काँचो सुपारी खरिद गरेको थिएँ, यतिबेला उद्योगहरूले लागत पनि नउठ्ने मूल्य राखेर सुपारी माग्न थालेका छन्’ गुरागाईंले भने, ‘प्रशोधन गरेर तयारी अवस्थामा राखेको सुपारी आधा मूल्यमा बिक्री गर्नु कि नगर्नु म दोधारमा छु ।’
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको फागुन २५ गतेको निर्णयले २०७६ चैत १६ गतेदेखि आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गरेको थियो । प्रतिबन्ध फुकुवासँगै सुपारी, मरिच, छोकडा र केराउ आयात खुल्ला भएको छ । यसले स्वदेशी मरिचले नै बजार पाउन नसकिरहेको अवस्थामा प्रतिबन्ध खुल्ला गरेपछि किसान मारमा पर्ने देखिन्छ ।
पूर्वी नेपालका किसानले उत्पादन गरेको मरिच तीनवर्ष अघिसम्म प्रतिकिलो १ हजार १ सय रुपैयाँमा बिक्री हुने गरेको थियो । गतवर्ष मरिच बजारमा आएसँगै सरकारले आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेपछि किसानले ५ सय रुपैयाँ प्रतिकेजी मरिच बिक्री गर्नुपरेको थियो । झापाको बुद्धशान्ति गाउँपालिका–१ का नेत्र सङ्ग्रौलाले प्रत्येक वर्ष ५ क्विण्टल मरिच उत्पादन गर्दै आएका छन् । विगत केही वर्षदेखि मरिच खेती गर्दै आएका सङ्ग्रौला उत्पादन राम्रो भए पनि नीतिगत अदूरदर्शिताका कारण उत्पादनले बजार पाउन नसकेको गुनासो गर्छन् ।
झापाका स्थानीय बजार साथै मध्य नेपालका केही किराना व्यापारीले मरिच खरिद गर्ने गरेको उनी बताउँछन् । सुपारीको बोटको फेदमा मरिच खेती गर्दै आएका सङ्ग्रौला यतिबेला उत्पादन गरेको मरिच कहाँ बिक्री गर्ने भन्ने चिन्तामा छन् । एक झ्याङमा ३ किलोसम्म मरिच उत्पादन हुने गरेको सङ्ग्रौलाले बताए ।
सुपारी र मरिच खेती गर्दै आएका मेचीनगर नगरपालिकाका निलकण्ठ तिवारीले चार बिगाहा क्षेत्रफलमा दुईतले खेती गरेका छन् । सुपारी र मरिच खेती गर्दै आएका तिवारीले सरकारसँग कृषि उत्पादनको तथ्याङ्क नै नभएको बताए । ‘हामीसँग कति मरिच छ र कसरी बजारसम्म पु¥याउने भन्ने तथ्याङ्कसमेत सरकारसँग छैन’ सङ्ग्रौलाले भने, ‘हामीले गरेको उत्पादनको बजारीकरणमा सहयोग गर्नु त कहाँ हो कहाँ उल्टै हामीलाई सरकारले निरुत्साहित गर्ने काम गरेको छ ।’
आयात खुल्ला गर्ने तर, व्यवस्थित ढङ्गले निकासी गर्ने वातावरण नबनाउँदा नेपाली उत्पादन सबैभन्दा मारमा परेको उनको गुनासो छ । ‘मेचीनगर भारतीय सीमावर्ती क्षेत्र भएको हुनाले यहाँ उत्पादित नेपाली मरिच भारतीय व्यापारीले लैजाने गरेका थिए’ तिवारीले भने, ‘अहिले भारतीय व्यापारी पनि आउन छाडेका छन्, बिक्री पनि छैन ।’
झापा सुपारी र मरिच उत्पादनको उद्गम थलो हो । नेपालमा १५ हजार मेट्रिक टन सुपारी उत्पादन हुने सरकारी तथ्याङ्क छ । मरिच उत्पादनको तथ्याङ्क अहिलेसम्म सरकारसँग छैन । झापामा मात्र वार्षिक ९ हजार मेट्रिक टन सुपारी उत्पादन हुने गरेको छ ।