इटहरी। लामो समयदेखि निर्माणाधीन इटहरीको होटल गरिमा नयाँ वर्षदेखि सञ्चालनमा आउने भएको छ ।
नयाँ वर्ष (२०७८) मा होटल सञ्चालनमा ल्याइने लगानीकर्ताहरूले बताए । १ अर्ब ३० करोड लागतमा होटल निर्माण गरिएको हो । इटहरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीम पौडेल र गोर्खा डिपार्टमेण्ट स्टोर इटहरीका सञ्चालक बलराम आचार्यको संयुक्त लगानीमा निर्माण गरिएको छ ।
होटलका सञ्चालक पौडेलले वैशाखमा होटल सञ्चालन गर्ने लक्ष्य राखिएको होटलमा अहिले फिनिसिङको काम भइरहेको बताए । पाँच वर्ष अघिदेखि निर्माण थालिएको भए पनि विभिन्न कारणले ढिलाइ भएको सञ्चालक पौडेलले बताए ।
होटललाई पाँचतारे मान्यता दिन र क्यासिनो सञ्चालनका लागि पर्यटन विभागमा आवेदन गरिएको उल्लेख गरे ।
होटल सञ्चालक बलराम आचार्यका अनुसार होटलमा कुल ७८ वटा कोठा छन् । जसमध्ये प्रेसिडेन्सियल सुइट रुम १, सुइट रुम ८, एक्जुक्युटिभ रुम १२, डिलक्स रुम २० र स्ट्याण्डर्ड रुम ३७ वटा छन् ।
होटलमा तीनवटा रेष्टुरेण्ट रहनेछन् । जसमध्ये ४० जना अटाउने एक रुफ टप रेष्टुरेण्ट छ ।
फाइन डाइनिङमा सयजना अटाउन सक्छन् भने तेस्रो ४० जनाको क्षमताको क्याफे एण्ड बेकरी सञ्चानलमा आउनेछ । तीनवटा कन्फरेन्स रुम छन् ।
जसमा २५, ५० र १ सय ५० जना अटाउने क्षमताको छ । यसैगरी एक हजार क्षमताको एक र ७ सय क्षमताको एक गरी दुईवटा ब्याङ्केट हल छन् । होटलमा स्विमिङ पुल, हेल्थ क्लब, स्पा, पर्याप्त पार्किङलगायतका सुविधा रहनेछन् ।
होटल पूर्ण क्षमतामा सञ्चालनमा आएमा २ सयजनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । होटलमा शतप्रतिशत नेपाली कर्मचारीलाई रोजगारी दिने लक्ष्य राखिएको छ ।
तर, होटललाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नका लागि भने त्यससँग सम्बन्धित विज्ञका लागि भने नेपालका दुई–तीनवटा समूहसँग छलफल चलिरहेको सञ्चालक आचार्यले बताए ।