विराटनगर। सुनसरीको गढीगाउँपालिका–३ छिटाहास्थित साना किसान कृषि सहकारी संस्था लि. का प्रबन्धक जुगुतनारायण चौधरीले २८ लाखभन्दा बढी रकम हिनामिना गरेको पाइएको छ ।
शेयर सदस्यहरूले बचत गरेको रकम सहकारीका प्रबन्धक चौधरीले विभिन्न मितिमा २८ लाख १७ हजार ७ सय ८६ रूपैयाँ १० पैसा हिनामिना गरेको पाइएको हो ।
प्रबन्धक चौधरीले सहकारीको धरानमा कारोबार गर्ने न्यू जनकल्याणकारी मनिट्रान्सफरबाट ७ लाख ८ हजार ५ सय ७९ रुपैयाँ, सहकारीमा शेयर सदस्यहरूले जम्मा गरेको व्यक्तिगत बचत ४ लाख ६९ हजार ४ सय ६७ रुपैयाँ ८६ पैसा, विभिन्न बैङ्कहरू र संस्थाको सहायक खाताका फरक रकम १६ लाख ३९ हजार ७ सय ३८ रूपैयाँ हिनामिना गरेको खुलेको सहकारीका अध्यक्ष देवनारायण मण्डलले जानकारी दिए ।
चौधरीले सहकारीको रकम हिनामिना गरेको लेखा परीक्षणबाट खुलेको थियो । उनले आर्थिक वर्ष २०७५/०७६ देखि ०७६÷०७७ सम्ममा सहकारीको रकम हिनामिना गरेको लेखा परीक्षणबाट खुलेको सहकारीले जनाएको छ ।
२०५६ सालदेखि सहकारीको प्रबन्धक रहँदै आएका चौधरीले सहकारीको रकम हिनामिना गरेको खुलेपछि सञ्चालक समितिको बैठकले सहकारीको प्रबन्धक पदबाट हटाएको सहकारीका अध्यक्ष मण्डलले जानकारी दिए ।
सहकारीको सञ्चालक समितिको फागुन २१ गतेको बैठकले चौधरीलाई प्रबन्धकबाट हटाएको हो । ‘सहकारीको हिनामिना गरेको रकम चौधरीबाट असुलउपर गर्ने र नियमावली बमोजिम वार्षिक २५ प्रतिशतका दरले थप हर्जाना समेत निजबाट असुलउपर गर्ने पनि सञ्चालक समितिको बैठकले निर्णय गरेको छ’ –अध्यक्ष मण्डलले भने ।
चौधरीले यसअघि पनि सहकारीको १८ लाख ६ हजार ७ सय ५२ रुपैयाँ २० पैसा हिनामिना गरेको थिए । हिनामिना गरेको रकम आर्थिक वर्ष २०७३/०७४ मा सहकारीलाई चौधरीले फिर्ता गरेका थिए ।
सहकारीमा १ हजार बढी शेयर सदस्य रहेका छन् । सहकारीको रकम हिनामिनाको विषयमा प्रबन्धक चौधरीसँग ब्लाष्टले सम्र्पक गर्न खोज्दा उनी सम्पर्कमा आएनन् ।