प्रहरी प्रशासनले माछा व्यापारमा अवरोध गरेको व्यवसायीले गुनासो गरेका छन् ।
भन्सार तिरेर आयात गरिएको माछा सुनसरी प्रहरीले बीच बाटोमा नियन्त्रणमा लिएर दुःख दिएको व्यापारीको गुनासो छ ।
‘राति ११ बजे भण्टाबारी प्रहरी चौकीका प्रहरीले माछाको गाडी रोक्यो, हामीसँग सबै कागजपत्र थियो, माछा व्यवसायी एहसान शेखले भने, ‘प्रहरीले रातभरी चौकीमा राखेर बिहीबार बिहान छाड्यो ।’
सबै कागजपत्र हेरेपछि कुनै कैफियत नभेटेपछि माछा र गाडी छाडेको शेखले बताए । उनले सरकारलाई राजस्व तिरेर दर्ता भएको संस्थाले बिक्री गर्दासमेत प्रहरी–प्रशासनबाट अवरोध सिर्जना भएको गुनसो गरे ।
विराटनगरको एसजीआइ एग्रो प्रालिले ५ लाख ३३ हजार ७ सय ६० रुपैयाँमा १ हजार ९ सय २० केजी रहु, पंगास र रुपचन्द नामको माछा आयात गरेको थियो ।
नेपालमा माछाको आयत गर्ने विराटनगरका माछा व्यवसायी शेखले उक्त माछाको ६६ हजार रुपैयाँ राजस्व विराटनगर भन्सार कार्यालयलाई बुझाएको बताए ।
भारतदेखि आयात गरेको माछा विराटनगर ल्याएपछि व्यापारी शेखले सो माछा काठमाडौंका खुद्रा व्यापारी धनुषा फिस हाउसलाई बुधबार राति ८ बजे पठाएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नरेन्द्रकुमार कार्कीले प्रतिबन्धित माछाहरू आउने क्रमम बढेकाले प्रहरीले नियमित चेकजाँच गरेर छाडेको बताए ।