धनकुटा। धनकुटामा पछिल्लो समय बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ । प्रदेश सरकारले किसानलाई अनुदान उपलब्ध गराउन थालेपछि किसान बाख्रापालनमा आकर्षित भएका हुन् । यसको पहिलो उदाहरण बन्न पुगेका छन्, धनकुटा नगरपालिका वडा नं.९ बेलहाराका किसान पशुपति भण्डारी । 

प्रदेश सरकारले बेलहाराका किसान पशुपति भण्डारीलाई आधुनिक खोर बनाउन अनुदान दिएपछि भण्डारीको बाख्रापालन फस्टाउँदै गएको छ । ३ वर्ष अगाडि २ लाखको लगानीबाट २५ वटा बाख्राबाट बाख्रापालन सुरु गरेका भण्डारीले हालसम्म ६ लाख रुपैयाँ लगानी गरि सकेका छन् ।

प्रदेश सरकारबाट चालु आ.व.०७७/७८ मा बाख्राको आधुनिक खोर निर्माणका लागि ५ लाख रुपैयाँ अनुदान प्राप्त भएको छ । उनले प्रदेश सरकारको सहयोगमा बाख्राको खोर पनि नयाँ निर्माण गरेका छन् । 

भण्डारीको फार्ममा अहिले उन्नत जातका बोयर बाख्रा पाठापाठी गरेर ४० वटा रहेका छन् । उनले २५ वटा बोकाको बिमा गरिसकेका छन् । वार्षिक प्रतिबोका २ सयको दरले २५ वटा बोकाको ५ हजार प्रिमियम बिमा कम्पनीलाई दिँदै आएका छन् ।

उनकोमा बाख्राका माउ भने ५० वटा छन् । उनले ०७६ सालमा बन्दीपुरबाट सरकारी दररेटमा ३० हजारका दरले बोयर बोका खरिद गरेर ल्याएका थिए । अहिले त्यही बोयर बोकाको २५ वटा नयाँ बोका उत्पादन भएको पशुपतिले बताएका छन् । 

आफ्नै देशमा व्यवसाय गर्ने र गाउँमा बेरोजगार युवालाई व्यवसाय गर्ने उत्प्रेरणा जगाउन भण्डारीले पशुपति व्यावसायिक उन्नत बाख्रा फार्म तीन वर्षअघि  स्थापना गरेर सञ्चालनमा ल्याएका छन् । भण्डारीको फार्ममा अहिले सयभन्दा बढी बाख्रा छन् । बाख्रापालनबाट हालसम्म आम्दानी नभए पनि अब आम्दानी हुने तयारीमा रहेको भण्डारीले बताए ।

चालु वर्षमा प्रदेश सरकारले सहयोग गरेपछि भण्डारी थप उत्साहित भएका छन् । उनले आफ्नो बाख्रा फार्ममा काम गर्ने २ जना कामदार पनि उचित ज्याला दिएर राखेका छन् । 

बाख्रापालन व्यवसाय थाल्नुभन्दा पहिले भण्डारी पशुपति निर्माण सेवा प्रालिका प्रोप्राइटर थिए । उनले करिब १० वर्षभन्दा बढी निर्माण व्यवसायी भएर काम गरे । निर्माण व्यवसायको क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा हुन थाले पछि आफूले छाडेको भण्डारीले बताए ।

हरेक ठेक्कामा अत्यधिक कमिसन जान थालेपछि गुणस्तरको निर्माण कार्य गर्न नसकिने तथा उल्टै घाटा खेप्नु पर्ने भई व्यवसाय नै धरासायी हुन थालेपछि निर्माण व्यवसाय छाडेर बाख्रापालनतर्फ लागेको भण्डारीको भनाइ छ ।