छथर जोरपाटी गाउँपालिकाले चालु आर्थिक वर्षको कृषि अनुदान ५ वटा कृषि तथा पशु सम्बन्धि संस्थाहरुलाई प्रदान गरेको छ ।
गाउँपालिकाले जारी गरेको १५ दिने सूचनामा दरखास्त लगाउने ६ वटा वडाका १७ वटा कृषिसँगसम्बन्धित संस्थाबाट छनोट गरी ५ वटा कृषि तथा पशुपालक संस्थाहरुलाई अनुदान प्रदान गरेको हो ।
अनुदानबाट ती समूह तथा सहकारीमा आवद्ध १ सय १५ जना कृषकहरु लाभान्वित हुनेछन् । अनुदान पाउने संस्थाहरुलाई संघीय सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन कार्यविधिअनुसार छनोट गरिएको भेटेनरी अधिकृत राजकुमार राईले जानकारी दिए ।
अनुदान पाउने संस्थाहरुमा बंगुरपालानका लागि आवेदन परेका ८ वटा संस्थाहरु मध्ये बंगुर पकेट क्षेत्रका वडा नं. ३ को ढुंङ्गे कृषि सहकारी संस्था र वडा नं. ५ को खोक्ताप बाँझ बिसाउना कृषक समूह रहेको छ ।
त्यस्तै किबी खेतीका लागि आवेदन परेका ३ कृषि संस्थाहरु मध्ये किबी पकेट क्षेत्रकै वडा नं.६ को पहाडी किबी तथा तरकारी उत्पादन कृषक समूहले अनुदान पाएको छ ।
त्यस्तै खुर्सानी खेतीका लागि परेका ४ कृषि संस्थाहरु मध्ये खुर्सानी पकेट क्षेत्र भन्दा बाहिरका वडा नं.२ को सल्लेरी कृषक समूहले अनुदान पाएको छ ।
मकै खेतीका लागि परेका २ वटा आवेदन मध्ये पकेट क्षेत्रकै वडा नं.१ को पिङडाँडा कृषक समूहले अनुदान पाएको छ ।
संघीय सरकारको ७५ प्रतिशत र कृषि समूह तथा सहकारीको २५ प्रतिशत साझेदारीमा उक्त अनुदानको कार्यक्रम सम्पन्न गरिने छाथरजोरपाटी गाउँपालिका कार्यालयले जानकारी दिएको छ ।
अनुदान पाउनेहरुमा बंगुर पालन अनुदान तर्फ १०–१० लाखका दरले जम्मा २० लाख, किबी र खुर्सानी खेतीलाई ६–६ लाख गरी जम्मा १२ लाख र मकै खेती अनुदानका लागि १२ लाख दिइने भेटेनरी शाखाले जानकारी दिएको छ ।
अनुदानबाट बंगुरपालनतर्फ सहकारीमा आवद्ध २९ जना, किबी तथा तरकारी उत्पादन समूहका २१ जना, खुर्सानी कृषक समूहका ३८ जना र मकै खेती समूहका २७ जना किसान लाभान्वित हुनेछन् ।
गाउँपालिकाले वडा नं. १ लाई मकै, २ लाई खुर्सानी, ६ लाई किबी र ३ र ५ वडालाई बंगुर पालन पकेट क्षेत्र घोषणा गरिएको छ ।