धनकुटा (ब्लाष्ट) पाख्रीबास नगरपालिकाले धनकुटामा पहिलोपटक कफी पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरेको छ ।
आर्थिक वर्ष ०७६÷७७ देखि पाख्रीबास नगरपालिकाको मुगामा कफी पकेट क्षेत्र कार्यक्रम सुरु गरिएको थियो । जिल्लाको सबैभन्दा ठूलो र व्यावसायिक कफी खेती मानिएको छ । नगरपालिकाले गत वर्षदेखि कफी पकेट क्षेत्रका लागि प्राविधिक परामर्श तथा नर्सरी व्यवस्थापन गर्ने कार्यक्रम तेखिमे कृषि परामर्श सेवा फर्मलाई जिम्मेवारी दिएको छ ।
नगरपालिकामा कफी पर्यटकीय पकेट क्षेत्रको अध्ययन ०७५ फागुनदेखि सुरु गरिएको थियो । परामर्श सेवा फर्मका सञ्चालक एवम् कृषिविज्ञ जीवनकुमार राईको नेतृत्वमा नगरपालिका क्षेत्रमा कफीको सम्भाव्यता अध्ययन थालिएको थियो । गत वर्षबाट व्यावसायिक रूपमा कफी खेती सुरु गरिएको पाख्रीबास नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले चालु आ.व.मा कफी खेती विस्तार गर्न १० लाख रुपैयाँ लगानीमा पाख्रीबास नगरपालिकाको मुगास्थित राई गाउँमा ७ रोपनी क्षेत्रफलमा कफीको नर्सरी व्यवस्थापन गरेर बिरुवा उत्पादन गरिसकेको छ । पाँच लाख कफीका बिरुवा उत्पादन गर्ने लक्ष्यका साथ नगरपालिकाको लगानीमा यस वर्ष उत्पादन गरेको ५० हजार बिरुवा रोप्नका लागि तयारी गरिएको नगर प्रमुख वृषबहादुर राईले जानकारी दिए ।
उनले १ लाख ५० हजार बिरुवा रोप्नका लागि थप तयारी हुँदै गरेको र ३ लाख कफीका बिरुवा तयारी हुने प्रक्रियामा रहेको जनाएका छन् । नगरको ४ हजार हेक्टरमा कफी खेती गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिकबहादुर राईले बताए । नगरले सामूहिक वनसहित ८० प्रतिशत भू–भागमा कफी खेती गर्न सकिने जनाएको छ ।
नेपालमा पाइने अराबिका जातको कफीको बिरुवा स्थानीय किसानलाई रोप्नका लागि आवश्यक नीति बनाएर बिरुवा वितरण गरिने बताए ।
पाख्रीबास–८ का वडाध्यक्ष सीताराम राईले नगरपालिकाले धनकुटा जिल्लामा पहिलोपटक कफी खेतीको पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरेर बृहत् रोजगारी सिर्जना गरेको बताए ।