यासोक। पछिल्लो समय स्थानीय तहले कृषि क्षेत्रलाई प्राथमिकता नदिएको किसानहरूले बताउँदै आएका छन् । स्थानीय सरकारले कृषि क्षेत्रमा ठूलो लगानी गरेको बताउँदै आएको छ । यसको प्रतिफल प्रायः शून्य छ । तर, पाँचथरको कुम्मायक गाउँपालिका–१ का युवाहरूले सरकारको सहयोगमा नमुना कृषि कर्म गरेर लोभलाग्दो कमाइ गर्दै आएका छन् ।
कुम्मायक–१ सफाबुङका युवाहरूले आप्लुङ कृषि फार्म सञ्चालन गरी मनग्य आम्दानी गर्न सफल भएका हुन् । स्थानीय सरकार र प्रदेश सरकारको साथ र सहयोग पाएका उनीहरूले समूहगत रूपमा सब्जी खेती गरी मनग्य आम्दानी गरेका छन् ।
सुख्खाक्षेत्रको बाँझो १५ रोपनी जमिनमा खनजोत गरेर टमाटर, बन्दाकोपी, खोर्सानीलगायतका सब्जी खेती गरेर आम्दानी गर्दै आएको पूर्व कर्मचारी तेजप्रकाश लावतीले बताए । ‘हामीले उत्पादन गरेको तरकारीको माग स्थानीय बजारदेखि तराईसम्म छ । सरदर खर्च कटाएर मासिक ८० हजारसम्म आम्दानी गर्दै आएका छौं’ –लावतीले भने । कृषि फार्ममा पूर्व प्रहरी, सेना र वैदेशिक रोजगारीबाट फर्किएका आठ जना युवाहरू छन् ।
लामो समयदेखि लोभलाग्दो पौरख देखाउँदै आएका युवाहरूलाई स्थानीय सरकारले १४ लाखको रकमबाट सिंचाइको लागि पक्की पोखरी निर्माण गरेको छ ।
त्यस्तै वडाले ९ वटा टनेल र प्लाष्टिक पोखरी निःशुल्क दिएको छ । त्यस्तै प्रदेश सरकारले कृषि बाली प्रवद्र्धन कार्यक्रम अन्तर्गत ७ लाख रुपैयाँ अनुदान दिएको छ । स्थानीय र प्रदेश सरकारको सहयोगले स्वदेशमै आयआर्जन गर्न सहज भएको अर्का युवा टीकाराज लावती बताउँछन् ।
‘गाउँका सबै साथीहरू विदेशमा छन् । हामी गाउँमै परिश्रम गर्दै आएका छौं’ लावतीले भने, ‘विदेशमा गर्ने दुःख गाउँमै गर्ने हो भने परिवारको गर्जो टार्न सकिन्छ ।’
वैदेशिक रोजगारीमा गएका युवाहरूको कारण अधिकांश जमिन बाँझिएको छ । तर, बाँझो जमिनलाई हरियाली बनाउन सफल भएका युवाहरूको मेहनत र लगनशीलतालाई नजिकबाट नियाल्दै आएको वडा कार्यालय र प्रदेश सरकारले पनि उनीहरूलाई अनुदानका कार्यक्रमबाट सहयोग गरेको छ ।
युवाहरूले उत्पादन गरेको कृषिजन्य वस्तुको माग स्थानीय बजारदेखि तराईसम्म हुने गरेको छ । मेहनत र परिश्रम गर्ने युवाहरूको लागि स्थानीय र प्रदेश सरकारले सहयोग गर्दै आएको कुम्मायक–१ का वडाध्यक्ष देवेन्द्रकुमार लावती बताउँछन् ।
सुख्खाक्षेत्रमा सिंचाइ गर्न बस्तीमाथिको स्थानमा ३ लाख लिटर पानी सङ्कलन गर्न पक्की पोखरी निर्माण गरेको बताए । कृषि बाली उत्पादन गर्न प्लाष्टिक पोखरी र टनेलको पनि व्यवस्था गरेको लावतीको भनाइ छ ।