प्रदेश–१ मा घरेलु मदिरालाई ब्रान्डिङ गर्न कार्यदल गठन गरिएको छ । प्रदेश–१ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरिएको छ । 

कार्यदलमा प्रदेश योजना आयोग सदस्य मीना भण्डारी, मुख्यमन्त्री शेरधन राईका आर्थिक सल्लाहकार महेन्द्रबहादुर गुरुङ, स्नातकोत्तर क्याम्पस विराटनगरका सहप्राध्यापक डिल्लीकुमार प्रसाइँ, प्रदेश कृषि निर्देशनालयका प्रमुख प्रकाश डाँगी, सामाजिक विकास मन्त्रालयका उपसचिव अम्बिकाप्रसाद चौलागाईं, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमलकुमार थापा, प्रदेश योजना आयोगका अधिकृत राकेश निरौला र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सहायक वनस्पती अधिकृत राजेश तामाङ सदस्य रहेका मन्त्री राईको सचिवालयले जनाएको छ ।

कार्यदलको सदस्य–सचिवमा सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत निर्मल भट्टराई छन् । कार्यदलले ४५ दिनभित्र मन्त्रालयमा प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको सामाजिक विकास मन्त्री उषाकला राईले जानकारी दिइन् ।

मन्त्री राईले विगतदेखि नै घरेलु मदिरामाथिको लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने आवाज उठाउँदै आएकी छन् । मन्त्री राईले यस अघि घरेलु मदिरालाई ब्राण्डिङ गर्ने उद्घोष गरिसकेकी थिइन् ।