भण्टाबारी । कोशी गाउँपालीकाकाले हुलाकी राजमार्ग लक्षित तरकारी उत्पादन कार्यक्रम अन्तर्गत १३० जना किसानहरूलाई विभिन्न कृषि सामाग्री वितरण गरेको छ ।

कृषि ज्ञान केन्द्र सुनसरीसँग सहकार्य गरेर कोशी गाउँपालीकाले किसानहरूलाई कृषि सामाग्री वितरण गरेको हो ।

कोशी गाउँपालीका वार्ड नम्बर १ लौकहीस्थित कोशी सघन बाली कलस्टर संचालक समितिले मंगलबार आयोजना गरेको कृषि औजार सार्वजनिकिकरण कार्यक्रममा कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी,कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नुनुलाल उराँवलगायतले किसानहरूलाई कृषि सामाग्री हस्तान्तरण गरेका थिए ।

१३० जना किसानहरुलाई ब्रस कटरमोडमेल, बोरिङ, पम्पसेट, सेक्सन पाइप, घेराबेरा गर्ने पोल, पावर स्प्रेलगायत वितरण गरिएको कोशी गाउँपालीका अध्यक्षका स्वकीय सचीव धर्मेन्द्र विश्वासले जानकारी दिए ।

किसानहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुर्‍याउने उद्देश्यले कृषि सामाग्री वितरण गरिएको बताउदै कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले क्रमबद्ध तवरले कोशी किसानका खेतीयोग्य जग्गाबाट विभिन्न प्रकारका तरकारी बाली उत्पादन गरेर जीविका चलाउन सक्षम भएको बताए ।

किसानलाई आत्मनिर्भर बनाउदै कोशी गाउँपालीकालाई कृषिको हव बनाउन आफूहरू लागेको उनको भनाइ छ ।