विराटनगर। विराटनगरका ‘ढुवानी सेवा’ का कार्यालयमा तस्करीको कपडा फेला परेको छ ।
राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले राजस्व छली गरेको आशङ्कामा छापा मार्ने क्रममा विराटनगरका ढुवानी सेवाहरूमा तस्करीको कपडा फेला परेको हो ।
विराटनगरको पञ्चबुद्ध र विनायक ढुवानी सेवामा ठूलो परिमाणमा भन्सार छली गरी ल्याएको तस्करीको कपडा भेटिएको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख दीपक थापाले जानकारी दिए ।
‘राजस्व छली गरेको गोप्य सूचना आएपछि विराटनगरका दुईवटा ढुवानीमा छापा मार्दा भन्सार छली गरेको कपडा फेला परेको छ’ राजस्व प्रमुख थापाले भने, ‘बरामद गरिएको कपडा नियन्त्रणमा लिएर कार्यालयमा ल्याएका छौं ।’
राजस्व अनुसन्धान टोलीले विनायक ढुवानी सेवाबाट ३३ पोका भन्सार छली गरेको कपडा बरामद गरिएको छ । एक पोकामा १ सय थान कपडा हुने गर्दछ । विनायक ढुवानी राजकुमार अग्रवालको हो । यो ढुवानीमा तस्करीको कपडा भारतको टिकुलिया बस्तीका विजय भगतले पठाउने गरेको स्रोतले जानकारी दिएको छ ।
भगतले भरिया प्रयोग गरी तस्करीको कपडा विराटनगर ल्याउने र विनायक ढुवानी सेवामार्फत् नक्कली बिलविजक तयार पारी व्यापारीले मगाएको ठाउँमा कपडा पु¥याउने गरेको राजस्व अनुसन्धान टोलीले गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।
यस्तै राजस्वले विराटनगरको पञ्चकन्या ढुवानी सेवाबाट ७ पोका कपडा बरामद गरेको छ । तस्करीको कपडा पठाउने क्रममा राजस्वले छापा मारेर बरामद गरेको थापाले जानकारी दिए ।
‘पञ्चकन्याका ढुवानी चालक शिवचन्द्र चौधरीले कपडा लैजाने क्रममा हामीले नियन्त्रणमा लिएका हौं’ कार्यालय प्रमुख थापाले भने, ‘दुवै ढुवानी सेवाका कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं ।’
यस्तै राजस्वले विराटनगरको पियन्सर सप्लायर्स, प्रमाण टे«र्डसमा पनि छापा मारेर कागजपत्र बरामद गरेको छ । ‘छन्सार छली गरेको सूचना आएपछि दुईवटा सप्लायर्समा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएका छौं’ प्रमुख पोखरेलले भने, ‘अहिले अनुसन्धान भइरहेको छ ।’
यस्तै इटहरीको कालिका गोल्डेन सिल्वर, सप्तरीको सुपर टाटा सुप एण्ड केमिकल उद्योगमा पनि छापा मारेर राजस्व कार्यालयले जनाएको छ । पछिल्लो समयमा राजस्व छली गरेको बढेको र राजस्व चुहावट रोक्न इटहरी राजस्व कार्यालयले अनुगमन तीव्र बनाएको छ ।
‘पछिल्लो एक सातामा ७ वटा व्यावसायिक फर्महरूमा छापा मारेर कागजपत्रहरू नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ’ –उनले भने । ढुवानी सेवाहरूबाट बरामद भएको कपडाको बिगो आधारमा मुद्दा दायर गरि लिलामी प्रक्रिया राजस्व कार्यालय अगाडि बढाउने गर्दछ ।
गोदाममा छापा मार्दा पेस्तोल भेटियो
राजस्व अनुसन्धान कार्यालय इटहरीले विराटनगरको आर. एम. ट्रेडर्सको गोदाममा छापा मार्ने क्रममा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद भएको छ । राजस्व र प्रहरीको टोलीले पेस्तोल र गोली सहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा इटहरी–१७ का २३ वर्षीय सुजित साह रहेका छन् । प्रहरीले विराटनगर–७ धाडेवा रोडमा रहेको कपडा र हार्डवेयरको गोदामभित्र पेस्तोल र गोली भेटिएको हो ।
दिलिप धाडेवाको घरको सटर भाडामा लिएर लामो समयदेखि कपडा र हार्डवेयरको गोदाम बनाएका थिए । १५ दिनअगाडि उक्त गोदाम खाली गरेका थिए । आइतबार साँझ इटहरीबाट राजस्व अनुसन्धानको टोली राजस्व छली गरेको आशङ्कामा गोदाममा छापा मार्न आएको थियो ।
साहलाई बोलाएर गोदाम खोल्दा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद भएको मोरङ प्रहरीले जनाएको छ । घटनास्थलमा वडा प्रहरी कार्यालय विराटनगर ‘क’ का डिएसपी दिपक कार्की र जिल्ला प्रहरी कार्यालय मोरङका मुद्दा फाँटमा प्रहरी निरीक्षक मिलन थापाको नेतृत्वको टोलीले घटनास्थलमा पुगेर पेस्तोल, त्यसमा लाग्ने गोलीसहित साहलाई पक्राउ गरेको हो ।
साहले पेस्तोल बाटोमा भेटेर गोदाममा ल्याएर राखिदिएको प्रहरीलाई बयानको क्रममा बताएका छन् । तर, गोदाम भित्र कसरी पेस्तोल र कसले ल्याएर के उद्देश्यले ल्याएको यस घटनाको गहन अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।
उनले पेस्तोल र गोली बरामद गरी कामदारलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जानकारी दिए । ‘अहिले हामीले अनुसन्धान सुरु गरेका छौं’ उनले भने, ‘बन्द गरिएको गोदामभित्र कसरी पेस्तोल आइपुग्यो । त्यस विषयमा अनुसन्धान सुरु गरेका छौं ।’ थप विषय अनुसन्धानपछि खुल्ने उनले बताए ।