धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत बिरामीका कुरुवालाई शनिबारबाट निःशुल्क खाना दिन थालिएको छ ।

धरान १७ वासीले सचेत नागरिक समूह गठन गर्दै निःशुल्क खाना वितरण गर्न थालेका हुन् । बन्दाबन्दीका बेला होटलहरु पनि सञ्चालन नहुने भएकाले कुरुवालाई लक्षित गर्दै खाना दिन थालिएको धरान १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई मनोजले जानकारी दिए ।

उनका अनुसार आउँदो जेठ १५ गतेसम्म कुरुवालाई खाना दिइनेछ । बन्दाबन्दी बढेको अवस्थामा सोहीअनुसार फेरि के गर्ने भन्ने विषयमा छलफल गरिने उनले जानकारी दिए । समूहमा करिब २० जना सदस्य छन् । सदस्यहरुमध्ये केहीले खाना पुर्याउने, कसैले खाना बनाउनेलगायत गर्दै आएको छ । दैनिक १३ हजार रुपैयाँ खर्च आउने अनुमान गरिएको छ । बिहान ७० प्याकेट खाना वितरण गरिएको थियो । साँझ ९० प्याकेट वितरण गरिएको हो । यसअघि धरान १७ को एन्फा एकेडेमीमा क्वारेन्टिन सञ्चालनमा ल्याइएको थियो ।

कोभिड अस्पतालमा उपचाररत बिरामीहरु धरानबाहिरको पनि रहेकाले उनीहरुलाई खान समस्या हुने भएकाले खाना वितरण गरिएको हो । खानाका लागि व्यक्ति तथा संस्थाले सहयोग गर्दै आइरहेका छन् ।