विजयपुर/ कोरोना भाइरसबाट बच्न जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा गरेपछि बजार, पसल बन्द छन् । अति आवश्यक भन्दै बैङ्क तथा वित्तीय सङ्घ–संस्थालाई खुल्ला गरिएको छ । तर, बैङ्कहरूबाट नै कोरोना सङ्क्रमणको जोखिम हुने त होइन भन्ने चिन्ता व्यक्त गर्न थालिएको छ ।

बैङ्क तथा वित्तीय संस्थाहरू खुल्ला हुँदा कोरोना सङ्क्रमण बढ्ने खतरा बढेको जनगुनासो आउन थालेको हो ।

प्रशासनले लगाएको लकडाउनमा पनि बैङ्क तथा वित्तीय संस्थालाई १ चौथाई कर्मचारीको उपस्थितिमा खुल्ला राख्ने निर्णय गरेको छ । उक्त निर्णयलाई कतिपय स्थानीय तहले अक्षरशः पालना गरेका छन् भने कतिपय स्थानीय तहले आफ्नै निर्णय गरेर पनि कोरोना नियन्त्रण गर्न लागेका छन् ।

कोरोना महामारी भयावह हुने अवस्था देखिएपछि केही समयअघि नै केराबारी गाउँपालिकाले सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाहरू बन्द गर्ने निर्णय ग¥यो । धरानको छिमेकी उपमहानगर इटहरीले पनि आइतबारदेखि एक हप्ताका लागि बैङ्क तथा वित्तीय संस्था बन्द गर्ने निर्णय गरेको छ ।

तर, धरान उपमहानगरपालिकाले भने यस विषयमा केही निर्णय गर्न सकेको छैन । धरान–१४ का प्रेम पराजुली बैङ्कहरू नै कोरोना भाइरसको ‘हट स्पट’ बन्ने खतरा रहेको बताउँछन् । उनी विभिन्न अनलाइन माध्यमबाट कारोबार गर्न सक्ने व्यवस्था भएका वित्तीय संस्थाहरू खुल्नु आवश्यक नरहेको बताउँछन् ।

उनी भन्छन्, ‘गरिबको बैङ्कमा खाता हुँदैन, धनीलाई १५ दिन नै बैङ्क सञ्चालन नहुँदा समस्या हुँदैन ।’ आवश्यक नै पर्नेलाई बैङ्कलाई सम्पर्क गरेर जाने वातावरण बनाए उपयुक्त हुने उनको भनाइ छ । उनी कारोबारका लागि एटिएम, मोबाइल बैङ्किङलगायतका प्रणालीबाट पनि हुने बताउँछन् ।


माछापुच्छ«े बैङ्क धरान शाखाका प्रमुख विराजराज खनाल बैङ्कमा धेरै उपभोक्ता आउने–जाने भएमा जोखिम हुने कुरा ठीकै रहेको बताउँछन् । स्थानीय सरकारले बैङ्कलाई असुरक्षित महसुस गरी बन्द गर्ने निर्णय गरे पालना गर्नुपर्ने उनी बताउँछन् ।

स्थानीय सरकारले पनि पूर्णरूपमा बन्द गर्ने निर्णय नगर्ने उनको बुझाइ छ । बैङ्कमा आकस्मिक सेवा लिएर अन्य सेवा बन्द गर्न सकिने उनले बताए । सिद्धार्थ बैङ्क धरान शाखा कार्यालयले आफ्नो कार्यालय शाखा भएकाले केन्द्रको निर्णय अख्तियार गर्ने बताएको छ ।

स्थानीय सरकारले बन्द गर्ने निर्णय गरे केन्द्रलाई जानकारी गराउने कार्यालयले जनाएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जनगुनासो आफूलाई पनि आएको बताउँदै अनुगमन गरिने जानकारी दिए । 

भीडभाड नहुने गरी अत्यावश्यक भएकाले सञ्चालन गर्न दिएको उनले बताए । जिल्ला प्रशासन कार्यालय सुनसरीका सूचना अधिकारी महेशकुमार पोखरेल बैङ्क तथा वित्तीय संस्थाहरू बन्द गर्न राष्ट्र बैङ्कले निर्णय गर्नुपर्ने बताउँछन् । उनले भने, ‘हामीले कम कर्मचारी राखेर सञ्चालन गर भन्न सक्छौंँ, त्यो पहिले नै भनिसकेका छौँ ।’

यस विषयमा नेपाल राष्ट्र बैङ्कका प्रवक्ता देवकुमार ढकालले पहिले नै राष्ट्र बैङ्कले ७ बुँदे सर्कुलर जारी गरेको बताए । उनले भने, ‘सर्कुलरको बुँदा नं। ७ मा स्थानीय तहको समन्वयमा बन्द या खुल्ला गर्ने निर्णय गर्न सक्ने व्यवस्था छ ।’