प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशन आजबाट शुरु भएको छ । बैठकमा आर्थिक कार्यविधि ऐन, २०७४ को दोस्रो संशोधन सम्बन्धी अध्यादेश सभामा आज पेश भएको छ । सो अध्यादेश आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङबुहाङ (लिम्बू) ले पेश गरेका थिए ।
यसैगरी, प्रदेशसभा नियमावली, २०७४ को उपनियम निलम्बन सम्बन्धी प्रस्ताव बहुअतले पारित भएको छ । सो प्रस्ताव प्रदेशसभा सदस्य विमलकुमार कार्कीले पेश गरेका थिए ।
बैठकको प्रारम्भमा प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ बाट प्राप्त प्रदेश सभाको आठौँ तथा बजेट अधिवेशन आह्वान सम्बन्धी पत्र सभामुख प्रदीपकुमार भण्डारीले सदनमा पढेर सुनाएका थिए ।
सभामा प्रदेश नं १ का मुख्यमन्त्री एवम् नेकपा (एमाले) संसदीय दलका नेता शेरधन राईले कोभिड–१९ को दोस्रो लहरबाट आमनागरिकलाई जोगाउन सरकार गम्भीर रहेको बताए ।

कोभिड–१९ को पहिलो र दोस्रो भेरियन्टका कारण जनजीवन, अर्थतन्त्र र उद्योग व्यापार सबै क्षेत्रमा गम्भीर असर परेको जानकारी दिँदै मुख्यमन्त्री राईले कोभिडबाट धेरै पाठ सिकेको र यसैको माध्यमबाट नयाँ आधार खडा गर्ने कुरामा जोड दिए ।
उनले सरकारले सदन छल्न नचाहेको प्रष्ट पार्दै छोटो समयममा नै बजेटको पूर्व छलफल सही ढङ्गले हुने धारणा राखे । उनले पहिलो चरणमा प्रदेशमा एक लाख ४५ हजार ४०० डोज खोप आएको र दोस्रो चरणमा ५२ हजार नागरिकले खोप लगाई सकेको बताउँदै खोप लगाउने कुरामा कतै पनि अनियमितता नभएको प्रष्ट पारे ।
उनले कोभिड उपचारमा कोशी अस्पताल, मेची अस्पताल भद्रपुर र कोभिड–१९ अस्पताल विराटनगरले राम्रो काम गरिरहेको जानकारी दिँदै अब आउने बजेट यथार्थपरक आउने कुरामा जोड दिए । उनले प्रदेशको नामाकरण सरकारको कारणले नभई राजनीतिक दलकै कारण सभामा पेश हुन नसकेको भन्दै अब नामकरणको प्रस्ताव सदनमा छिट्टै पेश हुने धारणा राखे ।
नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले चालु आर्थिक वर्षका लागि रातो किताबमा उल्लेखित योजनाका बजेट कहाँ हरायो भन्ने प्रश्न गर्दै सरकारबाट आर्थिक अपराधको काम भएको बताए ।
उनले चुरे दोहन गरेर बजेट घाटा कम हुन्छ भन्नु गलत हो भन्दै सरकारले ल्याउने आगामी बजेटको बृहत छलफल गर्ने बताए ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले बजेटको सिद्धान्त र प्राथमिकतामा छलफल नगरेकोमा आपति जनाए ।
उनले कोभिड–१९ को दोस्रो लहरमा सरकार नदेखिएको उल्लेख गर्दै सरकारले जनतालाई राहत दिनु पर्ने कुरामा जोड दिए ।
जनता समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले जनताले कोभिडबाट बच्न खोप नपाएको, जनतामा खाद्यान्नको अभाव देखिएको जानकारी दिँदै कोरोनाबाट आमनागरिकलाई बचाउन सरकार गम्भीर हुन नसकेको आरोप लगाए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता इन्दिरा राई र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संसदीय दलका नेता विष्णु तुम्बाहाम्फेले प्रदेश सरकार कमजोर भएमा भ्रष्टाचार मौलाउने भन्दै न्यायालयमा खुल्ला राजनीति गर्न नहुने धारणा राखे ।
उनीहरुले सरकारले कोभिडबाट आमनागरिकलाई जोगाउन योजनाबद्ध लाग्नुपर्ने कुरा जोड दिएका थिए । प्रदेश सभाको अर्को बैठक जेठ २५ गते १२ः३० बस्ने सभामुख भण्डारीले जानकारी दिए ।