भण्टाबारी । सरकारी अनुदानको रासायनिक मल नपाएपछि सुनसरीको सीमावर्ती क्षेत्रका किसान भारतीय मल र बिउको भरमा नै खेती गर्न बाध्य छन् ।

भारतीय बजारबाट तस्करी गरी ल्याइएको मल र बिउ चर्को मूल्यमा किनेर खेती गर्न बाध्य बनेका हुन् । ‘सरकारी अनुदान पाइने भनिएको रासायनिक मल र बिउ अझै हामीले पाएनौं’–देवानगञ्ज गाउँपालिकाका किसान दिलिपकुमार कामैतले भने । वर्षौंदेखि यहाँका किसानहरू भारतीय बजारबाट ल्याइएको बिउ र मल प्रयोग गर्दै आएको बताउँछन् । सुनसरी सीमावर्ती क्षेत्रका किसान भारतीय बजार बसमतिया, वीरपुर, फुलकहा, भीमनगरलगायत क्षेत्रबाट डिएपी, युरिया, पोटासलगायतका मल आयात गर्न बाध्य छन् ।

सीमावर्ती बजारबाट चोरबाटो प्रयोग गर्दै ल्याउनेहरूबाट खरिद गर्नुपर्दा महँगो मूल्य तिर्नुपर्ने किसान कामैत बताउँछन् । ‘हामीलाई त समयमा मल चाहियो’ उनले भने, ‘सरकारी अनुदानमा मल नपाएपछि जति पैसा भने पनि किन्नै प¥यो ।’ अनुदानको मल र बिउ सहकारीमार्फत्् व्यापारीको हातमा जाने भएकोले यहाँका अधिकांश किसान भारतीय मलमाथि निर्भर रहेका हुन् ।

नेपाली मल नपाएको कारण भारतीय मलबाट काम चलाउनु परेको अर्का किसान दाउद अन्सारीले बताए । उनका अनुसार सरकारले अनुदानमा दिने मल र बिउ पहुँचवालाले मात्रै पाउने गरेका छन् । भारतीय मल र बिउ कमसल हुने भएकाले उत्पादनसमेत घट्दै आएको उनको गुनासो छ ।

वास्तविक किसानले नपाउने र भनसुन गर्नेलाई मात्रै सहकारी संस्थाले दिने गरेका कारण स्वदेशी मल पाउन नसकेको अन्सारीको भनाइ छ । अहिले भारतीय बजारबाट मल तस्करी हुने गरेको छ । भारतीय बजारबाट १ हजारदेखि १२ सय भारुमा ल्याउने ५० केजी डिएपीलाई नेपालमा २३ सयदेखि २५ सयमा बिक्री गरिरहेका छन् ।

त्यस्तै भारतमा ३ सयदेखि ३ सय ५० भारुमा पाइने युरिया नेपालमा ८ सयदेखि ९ सयसम्म पर्ने गरेको छ  । खुल्ला सीमाको फाइदा उठाएर किसानका नाममा दैनिक मल भिœयाउने गिरोह नै सक्रिय रहेको स्थानीय बताउँछन् ।