विजयपुर । कोरोना भाइरसका कारण सरकारले गरेको निषेधाज्ञामा सुनसरी दुहबी नगरपालिकाका केही विद्यार्थीहरूले मुडा बिक्री गरेर पकेट खर्च निकालिरहेका छन् ।

विद्यालय बन्द भएका कारण बीपी विद्यालयमा पढ्ने तीनजना विद्यार्थीहरू अहिले मुडा बिक्री गर्दै गरेका भेटिएका हुन् । उनीहरूले मुडा बिक्रीबाटै पकेट खर्च निकाल्ने गरेको बताए । कक्षा ४ मा अध्ययन गर्ने विकासकुमार मुहाली यो समयमा मुडा बिक्री गर्न थालेका छन् ।

उनी झैं प्रकाश माहुली र निरजकुमार माहुली पनि मुडा बिक्री गर्न गाउँगाउँमा हिँड्न थालेका छन् । उनीहरू अहिले इटहरी उपमहानगरपालिका र दुहबी नगरपालिकाका गाउँगाउँमा मुडा बिक्री गरिरहेका भेटिन्छन् ।

१७ वर्षीय प्रकाश माहुली सोही विद्यालयमा कक्षा–७ मा अध्ययन गर्छन् । अर्का १३ वर्षीय निरजकुमार माहुली पनि कक्षा–८ मा सोही विद्यालयमा अध्ययन गर्छन् । उनीहरू ३ जना साइनोले काका ठूलाबुबाका छोरा दाजुभाइ हुन् ।

एकजनाले १० वटासम्म मुडा साइकलमा लिएर हिँड्छन् । परम्परागत पेशा व्यवसाय नै भएकाले उनीहरूलाई केही सजिलो भएको छ । निरज भन्छन्, ‘हाम्रा बुबाले बिक्री गर्ने साहुकै दोकानदेखि हामीले पनि लिएर बिक्री गर्न हिँड्छौं ।’ उनीहरू प्रतिगोटा ३ सयमा बिक्री गर्छन् । उनीहरूको भनाइअनुसार एउटा मुडाबाट १ सय रुपैयाँ नाफा आउँछ ।

दैनिक प्रतिव्यक्ति ५ सयदेखि ८ सय रुपैयाँसम्म कमाइ हुने उनीहरू बताउँछन् । विद्यालय बन्द भएको समयमा पकेट खर्चका लागि मुडा बिक्री गर्न थालेको बताउँछन् । विद्यालय खुलेको समयमा भने मुडा बिक्रीका लागि नहिँड्ने गरेको उनीहरू बताउँछन् ।