भण्टाबारी। कोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०८९ को वार्षिक बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

कोशी गाउँपालिकास्थित लौकहीमा बुधबार आयोजित आठौं गाउँसभामा कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले ४८ करोड २ लाख ७३ हजार बराबरको वार्षिक बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

कोशी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि चालु खर्चतर्फ २५ करोड ५० लाख ७३ हजार र पुँजीगत खर्चतर्फ २२ करोड ५२ लाख गरी ४८ करोड २ लाख ७३ हजार बराबरको वार्षिक बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

वार्षिक बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष अन्सारीले आगामी वर्षका लागि कोशी गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको बताए ।

कोरोना भाइरसबाट लडिरहेको विषम परिस्थितिबाट गुज्रिरहेको हुँदा गाउँवासीको जीवनरक्षा गर्न ‘सचेत रहौं, आफू बचौं र अरूलाई पनि बचाऔं’ कार्यक्रम तय गरी स्वास्थ्यकर्मी तथा स्वयम्सेविका परिचालन गर्दै सचेतीकरण कार्यक्रम गर्दै आएको र आगामी दिन निरन्तरता दिने योजना रहेको उनको भनाइ छ ।

यसैगरी उर्वर खेतीयोग्य जग्गा भएका किसानलाई आत्मनिर्भर बनाउन तथा त्यस्तो जग्गामा तरकारी र फलफूल खेतीलाई प्रोत्साहन गर्ने नीति लिएको अन्सारीले बताए । कोशी गाउँपालिकाले कृषिमा पालिकालाई आत्मनिर्भर बनाउन कृषकलाई अनुदान दिनुका साथै उत्कृष्ट कृषकलाई सम्मान गर्ने नीति लिएको जनाए ।

प्रत्येक वडामा एक उत्पादन पकेट क्षेत्रको सम्भाव्यता अध्ययन गर्नेदेखि लिएर विभिन्न क्षेत्रमा कृषि पाठशाला सञ्चालन गर्ने अध्यक्ष अन्सारीको भनाइ छ । त्यसैगरी व्यावसायिक भैंसीपालक किसान रहेको क्षेत्रलाई भैंसीको जोनको रूपमा विकास गर्दै भैंसी जोन विकासका लागि प्रोत्साहन गरिने जनाइएको छ ।

वडा–वडामा पूर्वाधार

‘गाउँमा दिगो भौतिक पूर्वाधार, कृषि र पर्यटन समृद्धिको आधार’ भन्ने नारा अनुरूप कोशी गाउँपालिकाले प्रत्येक वडामा गाउँका कच्ची सडकलाई कल्भर्ट, ह्युम्पाइपसहित ग्राभेल सडकमा स्तरोन्नति गर्ने नीति लिएको छ ।

त्यसैगरी ‘एक वडा एक गौरव योजना’ कार्यक्रम अन्तर्गत प्रत्येक वडामा कम्तिमा ५ करोड लागतको एक योजना पहिचान गरी कार्यान्वयन गर्ने जनाएको छ । ‘एक वडामा एक खेल मैदान’ को अवधारणाअनुसार गाउँपालिका क्षेत्रमा रहेका ऐलानी सार्वजनिक जग्गालाई संरक्षण गरी खेलमैदान तथा पार्कका रूपमा विकास गर्ने नीति लिएको छ ।

वार्षिक कर छुट

कोशी गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लकडाउन अवधिभरको वार्षिक पेशा व्यवसाय कर र घरवहाल कर छुट दिइने बताएको छ । त्यसैगरी अपाङ्ग, अशक्त, दैवीप्रकोप पीडित, लोपोन्मुख जाति र ज्येष्ठ नागरिकलाई नागरिकता सिफारिस यसपटक समेत निःशुल्क गरिने भएको छ । वार्षिक रूपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई पुरस्कृत गर्ने भएको छ ।

कोशी गाउँपालिका महिनामा एकपटक ८ वटै वडामा

‘जनतासँग स्थानीय सरकार’ कार्यक्रमलाई निरन्तरता दिइनेछ । त्यसरी संवाद गर्दा सर्वसाधारणको गुनासाहरूका साथै सल्लाह सुझावसमेत पाइने भएकाले थप जिम्मेवार भएर काम गर्न मद्दत पुग्ने हेतुले ‘जनतासँग स्थानीय सरकार’ भन्ने कार्यक्रम ल्याएको अध्यक्ष अन्सारीको कथन छ । यसैगरी कोशी गाउँपालिकाले महिला सशक्तीकरण गर्नमा जोड दिनुका साथै शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरेको छ ।

उत्कृष्ट कर्मचारी पुरस्कृत

आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोशी गाउँपालिकाका अध्यक्ष अन्सारीले उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत गरेका छन् । वर्षभर उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै नीति तथा कार्यक्रमको अवसरमा कोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरी, नायव सुब्बा राजकिशोर मेहता र प्राविधिक मुन्ना ठाकुर पुरस्कृत भएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत गिरी र नायव सुब्बा मेहता नगद एकलाखसहित सम्मान–पत्रबाट सम्मानित भए भने प्राविधिक ठाकुर नगद २५ हजारसहित सम्मान–पत्रबाट सम्मानित भएका छन् । उनीहरूलाई गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी र कार्यक्रमका प्रमुख अतिथि इनरुवा नगरपालिकाका मेयर राजन मेहताले नगद र सम्मान–पत्रबाट सम्मानित गरेका थिए ।