बेलबारी / मोरङको सुन्दरहरैंचा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब १५ करोड १२ लाख ७ हजार १ सय रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
नगरपालिकाको बुधबार भएको आठौँ नगरसभामा उपमेयर धनमाया तामाङले सो बजेट प्रस्तुत गरेकी हुन् । उपमेयर तामाङका अनुसार आर्थिक बजेटमा सञ्चित कोषबाट निशर्ततर्फ ९४ करोड १५ लाख ७ हजार १ सय र सशर्ततर्फ अन्तरसरकारी अख्तियारीबाट ४७ करोड ४३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै, लागत सहभागिताबाट १ करोड, सहरी शासकीय सुधार कार्यक्रमअन्तर्गत वल्र्ड बैकबाट ७४ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
अन्तर सरकारी अख्तियारीतर्फ सामाजिक सुरक्षा तथा संरक्षणतर्फ ३० करोड ६७ लाख ९९ हजार ३ सय ८० रुपैयाँ प्राप्त हुने तामाङले बताइन् ।
सो बजेटमध्ये आन्तरिक स्रोत (चालु आर्थिक वर्षबाट आगामी आर्थिक वर्षमा अल्या हुने मौज्दात समेत) १६ करोड, संघीय तथा प्रदेश सरकारको वित्तीय समानीकरण अनुदानबाट २२ करोड ९५ लाख ७९ हजार रुपैयाँ आम्दानी हुने अनुुमान गरिएको छ । संघीय तथा प्रदेश सरकारको राजश्व बाँडफाँड एवम् रजिष्ट्रेसन रोयल्टीबाट २२ करोड ४० लाख ७५ हजार ५ सय ७०, संघीय सरकारको सशर्त अनुदानबाट ३९ करोड ७० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
संघिय सरकार र प्रदेश सरकारको समपुरका अनुदानबाट ३ करोड ६८ लाख, लागत सहभागिताबाट १ करोड र अन्तर–सरकारी अख्तियारीबाट ३० करोड ६७ लाख ९९ हजार ३ सय ८० रुपैयाँ स्रोत जुट्ने अनुमान गरिएको छ । अन्य अनुदान (पर्यटन विकास, पूर्वाधार विकास, सडक बोर्ड) बाट ५ करोड ५ लाख तथा शहरी शासकीय सुधार कार्यक्रम वल्र्ड बैकबाट ७२ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरी बजेट निर्माण गरिएको तामाङले बताइन् ।
नगरसभामा नगर सदस्यले उठाएका विभिन्न प्रश्नको मेयर शिवप्रसाद ढकालले जवाफ दिएका थिए ।
नगरसभामा वडा नम्बर ७ र वडा नम्बर १० लाई प्रशंसापत्र प्रदान गरिएको थियो । नगरपालिकाले निर्माण गरेको नीति नियमको परिभिभित्र रही प्रभावकारी रुपमा ४ वर्षसम्म योजनाहरुको सञ्चालन र गरी सुशासन कायम राख्न महत्वपूर्ण भूमिका खेलेको भनी वडा नम्बर १० लाई प्रशंसापत्रले सम्मान गरिएको थियो । त्यस्तै, नगरभित्रका वडामध्ये सबैभन्दा बढी राजस्व संकलन गर्ने वडाको रुपमा वडा नम्बर ७ लाई सम्मान गरिएको थियो ।