मोरङको पथरी शनिश्चरे नगरको बिहीबार सम्पन्न नवौं नगरसभामार्फत् आर्थिक वर्ष २०७८/७९ का लागि नीति, कार्यक्रमसहित ९५ करोड ६६ लाख ११ हजार ७ सय ४४ रुपैयाँको बजेट पेश भएको छ ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न सभामा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले आर्थिक वर्ष २०७८/७९ का लागि ९५ करोड ६६ लाख ११ हजार ७ सय ४४ रुपैयाँको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेकी छन् ।

सभामा आर्थिक वर्ष २०७८/७९ को सेवा र कार्यहरुका लागि स्थानीय सञ्चित कोषबाट केही रकम विनियोजन गर्न र खर्च गर्न बनेको ‘विनियोजन विधेयक’ पनि पारित भएको छ ।

सभामा नीति, कार्यक्रम र बजेट सुझाव सहित पारित भएको छ । सो बारेमा शुक्रबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्ने कार्यक्रम रहेको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए । सोही कार्यक्रममा उत्कृष्ट पत्रकार सम्मान, उत्कृष्ट पत्रकार पुरस्कार, उत्कृष्ट सञ्चारमाध्यम पुरस्कार र लेखनवृत्ति समेत वितरण गरिने नगर प्रवक्ता गुरागाईंले बताए ।

जारी कोरोना संक्रमणका कारण एन्टिजेन परीक्षणसहित स्वास्थ्य सतर्कता अपनाएर नगरका जनप्रतिनिधि र कर्मचारी सहभागी भएर बन्द सत्रका रुपमा मात्र नगरसभा सञ्चालन भएको थियो ।