विराटनगर । विराटनगर महानगरपालिकाभित्र रहेका खुद्रा किराना पसलहरूमा भारतबाट अवैध रूपमा तस्करी भएर आएका खाद्यवस्तुहरू बिक्री वितरण गर्ने गरेको पाइएको छ । सीमावर्ती बजार जोगवनीबाट अवैधरूपमा भन्सार छली गरेर ल्याएका खाद्यवस्तुहरू विराटनगरका खुद्रा पसलहरूमा बिक्री वितरण गर्ने गरेको भेटिएको हो ।
उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा विराटनगर महानगरपालिकाभित्रका खुद्रा पसलहरू मङ्गलबार अनुगमनको क्रममा यस्तो भेटिएको हो । यहाँका खुद्रा पसलका व्यापारीहरूले क्यारिङमार्फत् भन्सार छली गरेर ल्याएका खाद्यवस्तुहरू लिने गरेको फेला परेको हो ।
उनीहरूले ल्याएको खाद्यवस्तुको बिलविजक देखाउन नसक्दा विराटनगरका तीनवटा खुद्रा पसल कारबाहीमा परेको छ । यसरी कारबाही पर्नेहरूमा विराटनगर–९ बी प्लटभित्र रहेको मोनिका पूजा एवम् किराना पसल, गणेश किराना भण्डार र ओम शान्ति किराना पसल रहेका छन् । उनीहरूको पसलमा रहेको खाद्यवस्तुको बिलविजक नदेखाएपछि कारबाही गरिएको उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।
कारबाहीमा परेका पसलहरूलाई वाणिज्य कार्यालयले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाहीको दायरमा ल्याएको उनले बताए । वाणिज्य कार्यालयले मोनिका पूजा एवम् किराना पसललाई २० हजार रुपैयाँ, गणेश किराना भण्डार र ओम शान्ति किराना पसललाई जनही १०–१० हजार रुपैयाँ जरिबाना गराएको हो ।

खुद्रा पसलहरूमा तस्करी भएर चिनी, दाल, बिस्कुट, पापडलगायतका खाद्यवस्तु आउने गरेको पाइएको छ । व्यापारीहरूले जोगवनीमा गएर खाद्यवस्तु खरिद गर्ने र उनीहरूले क्यारिङ गर्नेलाई सामान पसलसम्म ल्याउने जिम्मा दिने गर्दछन् । व्यापारीले पसलसम्म खाद्यवस्तु ल्याउन क्यारिङ गर्नेलाई निश्चित रकम दिने सहमति हुने गर्दछ । सहमति अनुसार क्यारिङ गर्नेले पनि भरिया प्रयोग गरेर गन्तव्यसम्म ल्याउने गर्दछन् ।
यसरी क्यारिङमार्फत् भारतबाट खाद्यवस्तुको तस्करी गरी बिक्री वितरण सबैभन्दा बढी विराटनगरको पुरानो गुद्री र नयाँ गुद्रीका होलसेल र खुद्रा पसलका व्यापारीहरूले गर्ने गरेको स्रोतले जानकारी दिएको छ । दैनिक यहाँका पसलहरूमा तस्करीको लाखौं मूल्य बराबरको खाद्यवस्तु क्यारिङ गर्नेले लिएर आउने गरेको छ । क्यारिङ गर्नेलाई व्यापारीले पिस हिसाबले भुक्तानी दिने गर्दछन् ।
यस्तै अनुगमनको क्रममा विराटनगर–९ मा रहेको टाटा किराना पसलमा म्याद सकिएको खाद्यवस्तु भेटिएको थियो । म्याद सकिएको मसला, पाउडरलगायतका ५ हजार ४ सय मूल्य बराबरको खाद्यवस्तु अनुगमन टोलीले नष्ट गरेको छ । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, उपभोक्तावादी सङ्घ–संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।